काठमाडौं, भदौ २ - दुईजना बस्न मिल्ने मोटरसाइकलमा छोराछोरी र आमा समेत गरी अटाईनअटाई चार जना बसेका छन् । मोटरसाइकल चलाउने मान्छेले घाँटीसम्म छोपिनेगरी हेलमेट लगाएको छ । तर छोराछोरी र श्रीमतीलाई हेलमेट चाहिन्छ भन्ने उसलाई ख्याल नै छैन । बाबुको अघिल्तिर अप्ठेरो गरेर मोटरसाइकलमा बसेको छोरोले सोध्छ–बा, हाम्रो माया लाग्छ ? बाउ भन्छ– लाग्छ । फेरि छोरोले भन्छ– अनि हाम्लाई खै त हेल्मेट ?
चर्चित कार्टुनिष्ट राजेश केसीले जनहितको लागि बनाउनुभएको यो कार्टुनको दृश्य मोटरसाइकल चलाउने धेरैसँग मेल खान्छ । मोटरसाइकल चलाउनेसँग प्रायः एउटा मात्र हेल्मेट हुन्छ । तर मोटरसाइकलमा उ मात्र चढ्दैन । बिहान छोराछोरीलाई त्यही मोटरसाइकलमा राखेर स्कुल पुर्याउनुपर्छ । श्रीमती, परिवारका अरु सदस्य र साथीभाइ पनि बेलाबेला मोटरसाइकल चढ्छन् । स्कुल सुरु हुने र छुट्ने समयमा त एउटै अघिपछि गरेर ५÷६ जना केटाकेटी राखेर मोटरसाइकल चलाउनेहरु पनि छन् । तर यसरी मोटरसाइकल चलाउँदा चालकले आफु मात्र हेल्मेट लगाउँछ । आफ्ना छोराछोरी, श्रीमती र पछाडि बस्ने अरुलाई हेल्मेट चाहिन्छ भन्ने कुरा उसलाई थाहा हुँदैन । अझ धेरैलाई लाग्छ, हेल्मेट भनेको ट्राफिक प्रहरीलाई देखाउनको लागि मात्र हो । 
मोटरसाइकल चलाउने र चढ्ने सबैलाई थाहा छ–दुई पाङ्ग्रे साधन भएकाले मोटरसाइकल जुनसुकै बेला पनि लड्न सक्छ । यसरी लड्दा र दुर्घटना भएको बेला सुरक्षाको लागि हेल्मेट लगाउनुपर्ने नियम आएको हो । ‘मोटरसाइकल लड्दा चालक मात्र होइन, अगाडि र पछाडि बसेका उसका छोराछोरी र अरुलाई समेत चोटपटक लाग्न सक्छ’ जनहितका लागि कार्टुन बनाएका केसीले भन्नुभयो, ‘हेल्मेट लगाउन अल्छी मान्ने प्रवृत्ति छ, सबैले हेलमेट लगाउनुपर्छ भनेर कार्टुनमार्फत सन्देश दिन खोजिएको हो ।’
ट्राफिक प्रहरीका अनुसार सडकको अवस्था तथा ट्राफिक नियम पालना नगर्ने प्रवृतिका कारण मोटरसाइकल दुर्घटना हुने क्रम बढिरहेको छ । मोटरसाइकल दुर्घटना हुँदा अगाडि भन्दा पछाडि बस्नेलाई जोखिम बढी हुन्छ । समाउने ठाउँ नहुने, बच्चा तथा सामान बोक्नुपर्ने र कतिपय मोटरसाइकलको पछाडि बस्ने ठाउँ पनि अप्ठेरो हुने भएकाले मोटरसाइकल नलडेको बेलामा पनि पछाडि बस्ने मान्छे त्यसै पल्टिन सक्छ । 
मोटरसाइकल दुर्घटनासँगै हेल्मेट नलगाएका कारण पछिल्तिर बस्ने बढी असुरक्षित हुने क्रम बढेपछि ललितपुरका ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेतुले यसबारे जनचेतना जगाउने उदेश्यले कार्टुन बनाउन केसीसँग अनुरोध गर्नुभएको थियो । कार्टुनमार्फत सामाजिक सन्देश दिंदै आउनुभएका केसीले पनि सम्भावित दुर्घटनाबाट बच्नको लागि प्रेरणा दिने उदेश्यले कार्टुन बनाउनुभएको हो । यस्तै खालका कार्टुन सार्वजनिक ठाउँमा राख्ने तयारी छ । 
सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १३० मा मोटरसाइकल तथा अन्य यस्तै २ पाङ्ग्रे सवारी चलाउने चालकले तथा त्यस्तो सवारीमा बस्ने मानिसले सुरक्षाटोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ । 

Post a Comment

 
Top