भक्तपुर, असोज १२ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले मधेसमा भइरहेको आन्दोलनको नेतृत्व गर्नेहरु देशद्रोही भएको आरोप लगाउनुभएको छ ।
मंगलबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आफ्नो देशमा नाकाबन्दी गर्न छिमेकीलाई हारगुहार गर्ने र आफ्नै देशमा नाकाबन्दी गराउने काम गर्ने काम देशद्रोहीले मात्र गर्न सक्ने उल्लेख गर्नुभयो । 
उहाँले भारतले विश्व सुरक्षा सदस्यमा सामेल हुन लागिरहेका बेला मधेसका केही नेताहरुका लागि भारतले गरेको अघोषित नाकाबन्दीका कारण भारतको अन्तर्राष्ट्रिय छवी धुमलिएको बताउनुभयो । 
‘मधेस आन्दोलनमा कामदार वर्गको सहभागिता नभएर कालो बजारीया र नेपाललाई विखण्डन पार्नेहरुको सहभागिता अधिक छ’ उहाँले भन्नुभयो । वार्ताका बहानामा विभिन्न स्थानमा परिचालन गरिएका सेना फिर्ता गरेर नेपाल सरकारले गतल निर्णय गरेको उहाँको भनाई थियो ।
उहाँले नेपाल सरकारले उत्तर नाकालाई  प्राथमिकता दिएर खोल्न नसक्दा र विगतमा नेपाल सेनाका प्रमुखसमेत भारत भक्त भएकाले उत्तर तर्फको नाका खुल्न नसकेको भन्दै उहाँले नेपालले कताको नाका खोल्ने त्यो नेपालकै मामला भएको र भारतलाई खुशी पार्न उत्तरको नाका खोल्न नसक्दा अघोषित नाकाबन्दीको सास्ती नेपालीले खेप्नु परेको बताउनुभयो ।
उहाँले नेपाल सरकारका प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जान नसक्नु गलत भएको भन्दै अन्तर्राष्ट्रिय कानुन विपरित गएर नेपाल जस्तो भूपरिवेष्ठित देशमा भारतले अघोषित नाकाबन्दी गर्दासमेत नेपाल सरकार चुप लागेर बस्नु र अन्तर्राष्ट्रिय अदालतमा नजानुले नेपाल सरकारको अवस्था प्रष्ट पारेको उहाँको टिप्पणी थियो ।
नेपालको संविधान जारी भएपछि तत्कालै संशोधनको कुरा गर्दै हिँड्ने मन्त्रीहरु नालायक भएको भन्दै विजुक्छेंले कुनै पार्टी र छिमेकीको दवाबमा संविधान संशोधन गर्दै जाने काम केटाकेटीपन भएको बताउनुभयो ।
लामो समयसम्म पनि स्थानीय निकायको चुनाव गर्न भारतले नचाहेको विषय आफूहरुले उठाउँदै आएता पनि सरकार र ठूला दलका नेताहरुले ध्यान नदिएको र अहिले आएर स्थानीय निकायको निर्वाचन भारतले नै गर्न नदिएको प्रष्ट भएको उहाँले बताउनुभयो ।

Post a Comment

 
Top