काठमाडाैं, साउन ३२ - कीर्तिपुर बाघभैरव
गुठीका सदस्यहरु आइतबार आफ्नै कामधन्दामा व्यस्त थिए । त्यहीबेला खबर आयो
असनका एकजना गुठियारको निधन भयो । सबै काम छोडेर मलाम जानुपर्ने भयो, तर
सडकमा गाडी चलेका छैनन् । कीर्तिपुरबाट असनसम्म हिँडेर जाँदा घण्टौं लाग्छ ।
गाडी पाइएन भनेर मलाम नजान पनि भएन । त्यसपछि उनीहरुले एउटा उपाय निकाले ।
गुठीयारकै एकजना सदस्य अर्जुन मालीको
आफ्नै बस थियो । उहाँ आफैं बस चलाउनुहुन्छ । कीर्तिपुर–लगनखेल रुटमा चल्ने
पहेंलो रंगको बस बन्दको कारण आइतबार ग्यारेजमै राखिएको थियो । अब यही बस
रिजर्भ गरेर जाने उनीहरुबीच सहमति भयो । त्यसपछि उनीहरुले सेतो रंगको एउटा
टालो खोजे र झण्डा बनाए । एउटा कागजमा ठूलो अक्षरमा मलामी भनेर लेखे र बसको
अघिल्तिर टाँसे । त्यसपछि सेतो झण्डा हल्लाउँदै उनीहरु कीर्तिपुरबाट
असनतिर हुईंकिए ।
मलामी भनेर लेखिएको कागज बसको अगाडि
टाँसेर यात्रा गर्दा बन्दकर्ताले नरोकेपनि फर्किंदासम्म उनीहरुमा डर
देखिन्थ्यो । ‘अहिले पनि डर लागिरहेको छ’ मलामबाट कीर्तिपुर फर्केका
उनीहरुले एकै स्वरमा भने, ‘यसरी सबैलाई डरत्रास बनाउनेगरी बन्द किन गराएका
होलान् ?’ 
बन्दले बिरामी, मलामी र अत्यावश्यक कामको
लागि ओहोरदोहोर गर्नुपर्नेलाई बढी मार पर्छ । बन्दकर्तालाई पनि यो कुरा
राम्रैसँग थाहा छ । तर जुनसुकै निहुँमा बन्द गर्ने क्रम घटेको छैन । कसैले
बन्द भनेर हल्ला गर्ने बित्तिकै बन्द हुने प्रवृतिप्रति उनहरुले असन्तुष्टी
जनाए । ‘जे निहुँमा पनि बन्द गर्ने प्रवृति रोकिनुपर्यो’ अर्जुनले
भन्नुभयो, ‘सडकमा बन्द गर्ने मान्छे नभएपनि हामी डराएर गाडी चलाउँदैनौं,
सबैले बन्दको अवज्ञा गर्ने हो यस्तो प्रवृति अन्त्य हुन्थ्यो ।’

Post a Comment