काठमाडाैं, साउन ३२ - कीर्तिपुर बाघभैरव गुठीका सदस्यहरु आइतबार आफ्नै कामधन्दामा व्यस्त थिए । त्यहीबेला खबर आयो असनका एकजना गुठियारको निधन भयो । सबै काम छोडेर मलाम जानुपर्ने भयो, तर सडकमा गाडी चलेका छैनन् । कीर्तिपुरबाट असनसम्म हिँडेर जाँदा घण्टौं लाग्छ । गाडी पाइएन भनेर मलाम नजान पनि भएन । त्यसपछि उनीहरुले एउटा उपाय निकाले ।
गुठीयारकै एकजना सदस्य अर्जुन मालीको आफ्नै बस थियो । उहाँ आफैं बस चलाउनुहुन्छ । कीर्तिपुर–लगनखेल रुटमा चल्ने पहेंलो रंगको बस बन्दको कारण आइतबार ग्यारेजमै राखिएको थियो । अब यही बस रिजर्भ गरेर जाने उनीहरुबीच सहमति भयो । त्यसपछि उनीहरुले सेतो रंगको एउटा टालो खोजे र झण्डा बनाए । एउटा कागजमा ठूलो अक्षरमा मलामी भनेर लेखे र बसको अघिल्तिर टाँसे । त्यसपछि सेतो झण्डा हल्लाउँदै उनीहरु कीर्तिपुरबाट असनतिर हुईंकिए । 
 पहेंलो रंगको सार्वजनिक मिनी बस सेतो टालो फर्फराउँदै सडकमा गुडेको देख्दा धेरैजना अचम्ममा परे । ‘बन्दको बेला सडकमा हिँडिरहेका मान्छे र प्रहरी समेत दंग परे’ अर्जुनले भन्नुभयो, ‘हामीलाई कसैले रोकेन, असन पुग्यौं, त्यहाँबाट शोभाभगवती घाटसम्म गएर दाहसँस्कार गरेर फर्कियौं ।’
मलामी भनेर लेखिएको कागज बसको अगाडि टाँसेर यात्रा गर्दा बन्दकर्ताले नरोकेपनि फर्किंदासम्म उनीहरुमा डर देखिन्थ्यो । ‘अहिले पनि डर लागिरहेको छ’ मलामबाट कीर्तिपुर फर्केका उनीहरुले एकै स्वरमा भने, ‘यसरी सबैलाई डरत्रास बनाउनेगरी बन्द किन गराएका होलान् ?’ 
बन्दले बिरामी, मलामी र अत्यावश्यक कामको लागि ओहोरदोहोर गर्नुपर्नेलाई बढी मार पर्छ । बन्दकर्तालाई पनि यो कुरा राम्रैसँग थाहा छ । तर जुनसुकै निहुँमा बन्द गर्ने क्रम घटेको छैन । कसैले बन्द भनेर हल्ला गर्ने बित्तिकै बन्द हुने प्रवृतिप्रति उनहरुले असन्तुष्टी जनाए । ‘जे निहुँमा पनि बन्द गर्ने प्रवृति रोकिनुपर्यो’ अर्जुनले भन्नुभयो, ‘सडकमा बन्द गर्ने मान्छे नभएपनि हामी डराएर गाडी चलाउँदैनौं, सबैले बन्दको अवज्ञा गर्ने हो यस्तो प्रवृति अन्त्य हुन्थ्यो ।’

Post a Comment

 
Top