काठमाडौं, साउन २४– एउटै घटना, फरक ठाउँ, उमेर उस्तै, उस्तै पीडा पनि । ट्रमा सेन्टरको चौथो तल्लाको बेड नम्बर १ र बेड नम्बर ३ मा दुईजना बालिका एकैखाले चोटको  उपचार गराईरहेका छन् । 

सिन्धुपाल्चोककी खेण्डो तामाङ बायाँ खुट्टा काटिएको अवस्थामा छट्पटाईरहेकी छिन् भने उतापट्टि बेड नम्बर ३ मा दायाँ खुट्टा गुमाएकी ओखलढुंगाकी निर्मला परियार निको हुने दिन गन्दैछिन् । भूकम्पले भत्किएको घरले खुट्टा च्यापिंदा तिघ्रा भन्दा मुनितिरको भाग काम नलाग्ने भएपछि डाक्टरले दुवै बालिकाको खुट्टा काटिदिएका हुन् ।
बेडमा पल्टिरहेकी खेण्डो दायाँतिर फर्किदा खुट्टा काटिएको अवस्थामा पल्लो बेडमा सुतिरहेकी निर्मलालाई देख्छिन् । अनि निर्मला बायाँतिर कोल्टे फेर्दा आफ्नै हालतमा पीडा खेपिरहेकी खेण्डोलाई आँखैमा पाउँछिन् । यी दुई बालिकाको एउटै खाले पीडाले एक अर्काको पीडा कम गर्न मद्दत मिलेको छ ।
खेण्डोकी आमा याङ्जेन भन्नुहुन्छ ‘शुरुमा खुट्टा काटेको थाहा पाएपछि छोरी धेरै रुन्थिन्, कसरी हिँड्ने भनेर घरी घरी खुट्टा हेर्दै रुन्थिन् जब उनले आफू जस्तो साथीको पनि खुट्टा नभएको थाहा पाइन् त्यसपछि यो समस्या आफ्नो मात्र नभएको बुझिन्, अहिले त पहिले जस्तो धेरै चिन्ता मान्दिनन् ।’

यस्तो छ तामाङ र परियारको पीडाको कहानी

खेण्डोलाई बाँसखर्क – ८, सिन्धुपाल्चोकबाट उपचारका लागि बीर अस्पतालमा ल्याउँदा   यसम् –३  ओखलढुंगाकी निर्मला परियार चार दिनअघि नै अस्पतालमा भर्ना भएकी थिइन् । भूकम्पले पहिरो जाँदा अवरुद्ध भएको सडक पन्छाउदै खेण्डोलाई काठमाडौ ल्याईपुर्‍याउँदा वैशाख १६ गते भईसकेको थियो । ढुंगाले च्यापिएको खुट्टामा किरा पर्न थालिसकेको थियो ।
खेण्डोका बुबा मंगले तामाङ सम्झिनुहुन्छ ‘घाइते छोरीलाई आफन्तको साथ लाएर पठाएँ, म चाहिँ घरले पुरिएको आमा र ठूली छोरी खोज्न थालें, भूकम्प गएको ६ दिन पछि मात्र आमा र छोरीको शव निकालेर दाहसंस्कार गरें, आमा र छोरीको बर्खी सकेर घाइते छोरीलाई अस्पताल भेट्न आउँदा महिना दिन बितिसकेको थियो, त्यत्तिबेला ऐया, अच्छौ भन्न मात्र सक्ने भएकी थिईन् ।’
यसम् –३ ओखलढुंगाकी निर्मला परियार भने चैते दशैको अवसर पारी काठमाडौमा सिलाई व्यवसाय गरिरहेका बुबालाई भेट्न आमासँगै आएकी थिइन् । चैते दसैं काठमाडौमै मनाएपछि वैशाख १५ गते आमा छोरी घर फर्कने तरखरमा थिए । ‘निर्मलाका बुबा आमा छोरीलाई घर पठाईदिन खर्चबर्च जोरजाम गर्दै थिएँ, पसलबाट निस्केको पाँच मिनेटमै संसारै उल्टिएला झैं गरी आएको भूकम्पले घर भत्किदा छोरीको खुट्टा च्यापिएछ, छिमेकीले छोरीलाई वीर अस्पताल लगेको खबर सुनाएपछि म उतै दौडिएँ । खोज्दा खोज्दा सडकमै राखेर उपचार गराईरहेको अवस्थामा छोरीलाई भेटे ।’ निर्मलाका बुबा भन्नुहुन्छ ‘अस्पतालमा ल्याउँदा धुकधुकी मात्र बाँकी थियो, बाँच्न सफल भयो यही ठूलो मान्नुपर्छ ।’

निर्मला र खेण्डो भए कहिल्यै नटुट्ने साथी

ट्रमा सेन्टरको वल्लो पल्लो बेडमा निको हुने दिन गन्दै बसेका यी दुई बालिका कहिल्यै नछुट्ने साथी भएका छन् । शुरुका दिनमा सयौं घाइतेको उपचार भएको ट्रमा सेन्टरमा को कस्ता समस्याका विरामी भन्ने दुवै बालिकाका अभिभावकलाई पनि थाहा भएन । भूकम्पका घाइते निको भएर डिस्चार्ज गर्न थालेपछि घाइतेको संख्या पनि कम हुँदै गयो । खेण्डोका बुबा मंगले तामाङका अनुसार एक दिन ट्रमा सेन्टरको शौचालयको पाइप फुट्यो, विरामी वार्डमा पनि गन्ध फैलियो, त्यही बेला अस्पताल व्यवस्थापनले बेडहरु यता उता मिलाउने क्रममा खेण्डो र निर्मलाको बेड लस्करै पर्न गयो, त्यसपछि उनीहरु बीच पीडा साटासाट हुन गयो । निर्मलाका बुबा भन्नुहुन्छ ‘यिनीहरु बीचको मित्रता यस्तो भईसक्यो कि, घाउ निको हुदै गर्दा उनीहरु दुवैलाई एकै दिन डिस्चार्ज गराईदिए हुन्थ्यो भनिरहेका छन् ।’

अभिभावकलाई भविष्यकै चिन्ता

सद्दे खुट्टा काटेर अपाङ्गता भएपछि बालिकाका अभिभावक चिन्तित भएका छन् । नाच्न गाउन साह्रै रहर गर्ने निर्मलाको खुट्टा हेर्दै निर्मलाकी आमा आँशु चुहाउदै भन्नुहुन्छ  ‘अब त एउटा खुट्टाले मात्र नाच्न सक्ने कुरै भएन ।’ ‘घरदेखि स्कुलसम्म आउने जाने बाटो, त्यहाँको वातावरण सबै सम्झन्छु मेरी छोरी कसरी स्कुल आउजाउ गर्लिन् ?’ मलाई यही कुराको चिन्ता लाग्छ’ गला अवरुद्ध हुदै निर्मलाका बुबाले भन्नुभयो । सके यतै पढाउने नसके कुनै संघसंस्थालाई गुहार्ने अन्तिम निर्णयमा पुग्नुभएको छ उहाँ ।
भूकम्पमा परी आमा र हुर्किसकेकी छोरी गुमाएका मंगले तामाङको जोडीलाई पनि नानीको भविश्यकै चिन्ता छ । भूकम्पमा परी जोखिएकी खेण्डोलाई राम्रो शिक्षा दिन पाए त्यही ठूलो सफलता मान्ने मंगले बताउनुहुन्छ ।’ भूकम्पले सर्वनाश भएको मनमा ठूलो सपना छैन भूकम्पले बाँकी राखेको यही नानीलाई राम्रो शिक्षा दिन पाए त्यो भन्दा ठूलो प्रगति केही चाहिँदैन’ नानीको भविश्यमा चिन्तित हुदै मंगलेले बताउनुभयो ।

Post a Comment

 
Top