काठमाडौं, साउन २४ – प्रथम गणतन्त्रवादी नेताको पहिचान बनाएका स्वर्गीय रामराजाप्रसाद सिंहको जीवनीमा आधारित आत्मवृत्तान्त पुस्तक अब हिन्दी भाषीका लागि पनि सुलभ भएको छ ।

पत्रकार सीताराम बरालद्वारा लिखित पुस्तक हिन्दी भाषामा ‘रामराजा प्रसाद सिंह गणतन्त्रके लिए संघर्ष’ शीर्षकमा भारतीय दूतावासको सौजन्यमा प्रज्ञा फाउण्डेशन तथा अल्टिमेट मार्केटिङ प्रा. लि. ले प्रकाशनमा ल्याएको हो ।
‘गणतन्त्रको आन्दोलनमा अनवरत रुपमा समर्पित योद्धाहरु र जनतान्त्रिक संघर्षको महायज्ञमा आफ्नो जीवन उत्सर्ग गर्ने हुतात्मा शहीदहरुको पुण्य स्मृतिमा समर्पित’ गरिएको पुस्तक नेपालीबाट हिन्दी भाषामा प्रकाश प्रसाद उपाध्यायले अनुवाद गर्नुभएको हो ।
६ वर्षअघि जतिबेला रामराजाप्रसाद सिंहको जीवनी पुस्तक नेपाली भाषामा प्रकाशन भएको थियो, त्यतिबेला उहाँ राजनीतिमा सक्रिय नै हुनुहुन्थ्यो । पुस्तकले नेपाली पाठकहरुमाझ अपेक्षित चर्चा र प्रतिक्रिया पनि पायो । त्यसै सेरोफेरोमा सिंह तात्कालिन राजनीतिक परिस्थितिमा एनेकपा माओवादीका तर्फबाट प्रस्तावित गरिएर देशकै सर्वोच्च पद राष्ट्रपतिका लागि उम्मेदवार बन्नुभयो । तर त्यसमा उहाँ पराजित हुनुभयो ।
सिंहको २०६९ साल भाद्र २७ गते निधन भयो । सरकारले उहाँलाई राष्ट्रिय सम्मान दिएको थियो । निधनपछि डा. बाबुराम भट्टराई नेतृत्वको तात्कालिन सरकारले रामराजाप्रसाद सिंहलाई ‘राष्ट्र गौरव’ उपाधि प्रदान गर्‍यो । सरकारकातर्फबाट उहाँका नाममा मुग्लिनदेखि नारायणघाटसम्मको राजमार्गलाई ‘रामराजाप्रसाद सिंह लोकमार्ग’ नामाकरण गरियो । उहाँको छविचित्र अङ्कित दश रुपैयाँ मूल्यको हुलाक टिकट प्रकाशित गरियो । यहाँसम्मका सम्पूर्ण विवरण समेत समेट्न भ्याएको हिन्दी संस्करणमा सिंहका राजनीतिक जीवनका महत्वपूर्ण घटनाक्रमहरु विस्तृतमा समेटिएका छन् ।
रक्तिम त्योहार, हनुमाननगर काण्ड, नौ वर्षको उमेरमा जेल, जेल सुधार अभियान, देशी वकील शाही मुद्दादेखि गणतन्त्रको प्रभातसम्मका अध्यायहरु पुस्तकका अंश छन् । पुस्तकले पाठकलाई रामराजा को हुन्, के हुन् मात्रै होइन भारतीय स्वतन्त्रता संग्राममा नेपालीको भूमिका, नेपालको तराईमा भारतीय भूमिबाट राजपूत वंशको प्रवेश, उनीहरुको यहाँका राणा शासकहरुसँगको सम्बन्ध, रामराजाको परिवारको राजनीतिमा भूमिका सहित २४ अध्याय अनुसूची समावेश गरी उहाँको जीवनमा घटेका सम्पूर्ण घटनाक्रमहरुलाई सविस्तार वर्णन गरिएको छ ।
पुस्तकको अर्को रोचक पक्ष नेपाली कम्युनिष्टहरुले ज्यादै प्रचलनमा ल्याउने गरेको ‘जनवाद’ शब्द वास्तवमा कम्युनिष्टहरुकै हाराहारीमा रामराजाले पनि प्रयोगमा ल्याउनुभएको थियो भन्न सकिन्छ । उहाँको पार्टीको नाम नै सधैं ‘जनवादी मोर्चा’ रह्यो ।
०४२ सालको बम काण्डपछि त त्यो नेपाली गणतन्त्रको बाहक जस्तै भयो । राजा महेन्द्र, भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धी र विश्वकै चर्चित गुरिल्ला नेता चे ग्वेभारासितको भेटमा भएका कुराकानीले नेपाली क्रान्तिकारी आन्दोलनलाई रामराजाले अन्तर्राष्ट्रिय करणतर्फ उन्मुख गर्नुभएको संकेत गर्दछ ।

Post a Comment

 
Top