ओखलढुंगा, साउन २५– सिद्धिचरण नगरपालिका १२ साविक अधेरी नारायणस्थान गाविस ८ अँधेरीका पाँच वर्षीया कुमारी राईको राम्रोसँग बोली आउँदैन । हेर्दा लाग्छ उनी मानसिक रोगी हुन् । तर त्यस्तो होइन । उनलाई अति शिघ्र कुपोषण भएको छ । घर परिवारले खाना खुवाउने र स्याहार गर्ने काममा बेवास्ता गरेपछि उनलाई शिघ्र कुपोषण भएको हो । 
पाँच वर्ष पुग्न लागेकी कुमारी २ वर्षकी जस्ती देखिन्छिन् । उनलाई शिघ्र कुपोषण भएको ग्लोबल एल्थ एलाइन्सका जिल्ला संयोजक उमेशचन्द्र घिमिरेले बताउनु भयो । ओखलढुंगाका धेरै बालबालिकामा अभिभावको लापरवाहीले कुपोषण भएको पाइएको घिमिरेको भनाई छ । 
भूकम्पपछि पोषण कार्यक्रम संचालन गर्दै आएको एलाइन्सले जिल्लाका सबै गाविस र नगरपालिकामा पाँच वर्षसम्मका बालबालिकाहरुको पाखुरा नाप, उचाई तथा तौल नापेर कुपोषणको अवस्था पहिचान गरेको थियो । एलाइन्सले पहिचान गरेको अति शिघ्र कुषोषण भएका बालबालिकाको सूचिमा कुमारी मात्र होइन उनकी ८ महिनाकी बहिनी प्रेमकुमारीको पनि नाम छ । पाखुरा नापमा उनलाई अति शिघ्र कुपोषण भएको देखिएको छ । उनका बाबु हेमराज राई डेढ वर्षदेखि विदेशमा छन् । आमा भने दिनहुँ मादक पदार्थ सेवन गरेर गाउँ हिँड्ने र छोरीहरुको स्याहार नगर्दा कुपोषण भएको स्थानीयबासिन्दाको भनाइ छ । 
यी त उदाहरण मात्र हुन् । जिल्लाका १५ गाविसका २७ जनामा अति शिघ्र कुपोषण र जिल्लाभर २ सय ५५ जना बालबालिकामा शिघ्र कुपोष भएको तथ्यांक ग्लोबल एल्थ एलाइन्सले सार्वजनिक गरेको छ ।  समाजमा आर्थिक रुपमा कमजोर, चेतनाको अभाव भएका समुदाय र अभिभावकको हेलचेक्र्याईंले  बालबालिकामा कुपोषण हुने एलाईन्सका जिल्ला संयोजक घिमिरेले जानकारी दिनुभयो ।  असार ८ गतेदेखि  साउनको दोस्रो सातासम्म ओखलढुंगाका १२ हजार ९ सय २५ जना पाँच वर्ष सम्मका बालबालिकामा कुपोषण परीक्षण गरिएको थियो । पहिचान गरिएकामध्ये २७ जनामा अति शिघ्र कुपोषण, २ सय ५५ जनामा शिघ्र कुपोषण भएको पाइएको छ । अतिशिघ्र कुपोषण भएकामध्ये सबैभन्दा धेरै फेदिगुठमा ४ जना बालबालिका भएको पाइएको छ भने शिघ्र कुपोषण सदरमुकाम ओखलढुंगाका १९ जना बालबालिकामा देखिएको छ । अति शिघ्र कुपोषण भएकामध्ये जनजाति समुदायका १२ जना दलित समुदायका ६ र अन्य ७ जना रहेको तथ्यांक एलाइन्सले सार्वजनिक गरेको छ । दुवै खाले कुपोषणका विरामी बालबालिकालाई उपचार गरेर सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने एलाइन्सले जनाएको छ । 

Post a Comment

 
Top