काठमाडौं, साउन २१ - वैशाख १२ गतेको भूकम्पपछि बालबालिकामा तनाव बढेको विभिन्न अध्ययनले देखाएको छ । भूकम्पपछि साना बालबालिकामा धेरै डराउने, कराउने, आत्तिने, रिसाउने, एकोहोरो हुने, बर्बराउने लगायतका समस्या देखिएका मनोविमर्शकर्ता कञ्चन रावलले बताउनुभयो । उहाँका अनुसार विद्यालय तहमा अध्ययनरत बालबालिकामा पढेको कुरा सम्झन नसक्ने, ध्यान नजाने, एकत्रित हुन नसक्ने जस्ता समस्या देखिएको छ ।
भूकम्पको कारण तनाव बढेकाले उनीहरुमा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो । यस्तै विभिन्न विद्यालयमा हुन लागेको प्रथम त्रैमासिक परीक्षाका कारण पनि चर्किएको घरमा बसेका, पालमा बसेका र भूकम्पपछि अरुको घरमा बसेका बालबालिकामा धेरै समस्या देखिएको मनोविमर्शकर्ता रावलको भनाई छ । यस्तोबेलामा एकैपल्ट पाठ्यक्रमको कुरामा ध्यान दिन लगाउनुभन्दा पनि उनीहरुलाई दिमाग चलाउन पर्ने खालको खेल खेलाएर मन एकत्रित गर्न सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसको लागि विभिन्न प्रकारको खेल खेलाउने र अतिरिक्त क्रियाकलापमा उनीहरुलाई संलग्न गराउन पर्छ । यसले पढेको कुरा याद गर्ने क्षमता बढाउँछ ।
भूकम्पका कारण बालबालिकामा फरक व्यवहार देखिएको छ भने किन यस्तो भैरहेको छ भनेर सोच्न पनि उहाँले आग्रह गर्नुभयो । उनीहरुलाई दण्ड दिनु सट्टा उनीहरुको कुरा बुझेर अघि बढ्नुपर्ने उहाँको भनाई छ । बालबालिकालाई यस्तो बेलामा कराउनुभन्दा पनि समस्या बुझेर परिवारसँगै शिक्षक शिक्षिकाले पनि समाधानमा सहयोग गर्नुपर्ने मनोविमर्शकर्ता कञ्चन रावलले जोड दिनुभयो ।
Post a Comment