पर्सा, साउन २१ - पर्साको सदरमुकाम बीरगंज उपमहानगरपालिकादेखि झण्डै ४० कि.मी.उत्तर पश्चिममा पर्ने निर्मलवस्ती गाविसका बासिन्दाले खानेपानीको अभावमा सास्ती भोग्नु परेको छ । निर्मलवस्ती गाविसको वडा नं १ देखि ९ सम्म नै खानेपानीको समस्या रहेको निर्वतमान अध्यक्ष लालबहादुर श्रेष्ठ बताउनुहुन्छ । चारकोशे झाडीको कालामसान भन्ने ठाउँमा रहेको नदीबाट पिउने पानीको आपूर्ति गरिएको भएपनि हात्तीले पाइप थुतेर फाल्नाले पनि आफूहरुले समस्या भोग्नुपरेको वडा नं ४ ब्रहमानगरका भूपाल जोशीले बताउनुभयो ।
निर्मलवस्ती गाविसका बासिन्दाले खानेपानीका लागि दिनहँु सास्ती भोग्न बाध्य छन । निर्मलवस्तीको वडा नं ६ बिशाल चोक र मेल चोकमा रहेका झण्डै १ हजार घर धुरीका लागि ५ हजार नागरिकलाई खानेपानीको ठुलो समस्या छ । त्यस क्षेत्रका लागि खानेपानीको एकमात्र स्रोत भूमीगत जल स्रोत (बोरिङ) रहेको छ । बोरिङ जडान गर्न लाखौं रुपैया लाग्ने भएकोले निजीस्तरबाट जडान गर्न नसकिएको निर्वतमान अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
तीन दशक पहिले जापान सरकारले बिशाल चोक र दुई दशक पहिले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साले मेलचोकमा खानेपानीको आपूर्तिको लागि बोरिङ जडान गरेको थियो । अहिले पनि त्यस क्षेत्रका बासिन्दाले त्यही बोरिङको पानी लाइन लागेर थाप्ने गर्छन र आफ्नो आवश्यकता पूरा गर्दै आएका छन ।
‘बोरिङ भएर मात्र के गर्नु भनेको बेलामा बिजुलीको आपूर्ति नहुँदा कम्ता दुःख भएको छैन’ स्थानीय अमर निर्दोषले भन्नुभयो “हामीले खानेपानीको बिषयमा मात्र हैन अन्य धेरै बिषयमा राज्यबिहीनताको अनुभव गर्नु परेको छ ।”
वाटर पम्पबाट पानी तान्न खोज्यो लाइन हँुदैन । दिनमा दशौं पटक लाइन आउने र जाने गरेको स्थानीयले बताए । बिजुलीको आपूर्ति नहँुदा पार्नी भर्न राखिएका गाग्रीहरु लाइनमै राख्नुपर्ने बाध्यता छ । बिजुलीको आपूर्तिमा गढबढी हुँदा ४ कि.मी.टाढा गएर पानी ल्याएर गर्जो टार्ने गरेको गृहणी सन्तमाया तामाङले बताउनु भयो । पर्सा जिल्लाको सेढवा, पोखरिया, बिन्दवासीनी, महुन जस्ता गाविसहरुमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साले खानेपानीको आपूर्तिको लागि हजारौं लिटर क्षमताको ओभरहेड ट्ंयाँकी निर्माण गरेको छ । करौडौं रुपैया खर्चे निर्माण गरिएका खानेपानीका ती कुनै पनि टं्याकीहरु संचालनमा भने आएका छैनन । तर आवश्यकता भएको पर्साको ठोरी, निर्मलवस्ती र सुवर्णपुर गाविसमा खानेपानीको आपूर्तिका लागि सरकारी स्तरबाट भरपर्दो र गुणस्तरीय परियोजना पर्न सकेको छैन ।
Post a Comment