पाँचथर, असोज ७ – पाँचथरको मानेडाँडा निम्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा काम्दै बर्बराएर बेहोस हुने समस्या देखापरेको छ । भारपा–५ को विद्यालयमा अध्ययनरत सात जना विद्यार्थीहरुमा यस्तो समस्या भएको विद्यालयका प्रधानाध्यापक अणेन्द्रे यवाले जानकारी दिनुभयो । 

कक्षा ७ मा पढ्ने दावा तामाङ, विरेन्द्र रसाइली, कक्षा ६ मा पढ्ने विरेन्द्र तामाङ, कक्षा ८ मा पढ्ने  रोशन गदाइली, मनकुमार तामाङ, मनिष योङहाङ र सरोज रसाइलीमा यस्तो समस्या देखापरेको हो । ‘एक जना काम्दै बर्बराउन थालेपछि अरुपनि उसैगरि काम्न थाल्छन्’, प्रअ यवाले भन्नुभयो ‘स्वतन्त्र रुपमा काम्न दिने हो भने सबै काम्दै बर्बराएर बेहोस हुन्छन् ।’
विगत तीन महिना यता विद्यार्थीहरुमा यस्तो समस्या देखा परेपनि बिहीबार मात्र विद्यार्थीहरुको समस्या सार्वजनिक भएको हो । विद्यालय प्रशासन र विद्यार्थीका अभिभावकहरुलाई समस्या थाहा भएपनि धामी लगाएर विद्यार्थीको उपचार गरिँदै  आएको बताइएको छ । 
बिहीबार काम्दै बर्बराएर विरामी भएका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र यवाले कुटेपछि विद्यार्थीहरुमा भएको समस्या सार्वजनिक भएको हो । बिहीबार पनि विद्यार्थीहरु काम्न थालेपछि विद्यालयका प्रअ अणेन्द्रले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रलाई फोन गरेका थिए । प्रअले फोन गरेर विद्यालयमा बोलाएपछि  नरेन्द्र विद्यालयमा पुगि विरामी विद्यार्थीहरुलाई कुटपिट गरेका हुन् । अध्यक्ष यवाले विरामी विद्यार्थीलाई कुटपिट गरेको विद्यार्थी बिनिता गदाईलीले बताईन । ‘उचालेर हिलोमा पछार्दै अध्यक्षले विरामी साथीहरुलाई कुट्नुभयो’, विनिताले भनिन् ।’ कुटपिटपछि बेहोस भएका रोशन गदाइलीलाई उपचारका लागि फिदिम स्थित पाथिभरा अस्पतालमा भर्ना गरिएपछि घटना सार्वजनिक भएको हो । 
धामी लगाएपछि विद्यार्थीहरु निको हुने भएकाले समस्या सार्वजनिक नगरिएको प्रअ यवाले बताउनुभयो । घटनापछि विद्यालय बन्द गरिएको छ । 

Post a Comment

 
Top