काठमाडौं, साउन २३ - डिस्चार्ज भएको महिना दिन हुनै लाग्यो तैपनि घर जानै मान्दैनन्, आफन्तलाई बुझाउँ भने आफन्त पनि छैनन्’ भूकम्पका घाइतेको कुरा गर्ने बित्तिकै ट्रमा सेन्टरकी सिनियर स्टाफ नर्स निलम महर्जनले अस्पताललाई परेको समस्याका बारेमा मुख खोल्नुभयो । उपचार पूरा भएर पनि घर जान नमान्ने एकजना बिरामीका कारण हैरानीमा परेको अस्पतालले विभिन्न विकल्प खोज्दा खोज्दा केही सीप नचलेपछि ती बिरामीलाई प्रहरीलाई जिम्मा लगाउने तयारी गरेको छ ।  
आफ्नो घर रसुवाको लहरेपौवा बताउने कुमार नेपालीलाई अस्पतालले प्रहरीको जिम्मा लगाउन खोजेको हो । सिनियर स्टाफ नर्स निलम महर्जनका अनुसार ती युवा शुरुमा भूकम्पका घाइतेसँगै वीर अस्पतालमा भर्ना भएका थिए । ‘अस्पतालसम्म कसले ल्यायो भन्ने अस्पतालले खासै हेक्का राखेन, मानवताको नाताले डाक्टरले अरु घाइते सरह उपचार गरे, ट्रमा सेन्टरमा ल्याएर अढाई महिना उपचार गरेपछि उहाँलाई अब डाक्टरको निगरानी आवश्यकता नपर्ने भएको छ’ ट्रमा सेन्टरका सिनियर स्टाफ नर्स निलम महर्जनले भन्नुभयो । 
महर्जनका अनुसार कुमारको टाउकोमा बाहेक अन्त कतैपनि चोट थिएन । टाउकोको घाउ निको भएपनि उहाँको मानसिक समस्या भएको डाक्टरको अनुमान छ । उपचारमा संलग्न डाक्टरका अनुसार कुमार असन्तुलित व्यवहार देखाउनुहुन्छ । ‘बोलीचाली राम्रै छ, तर दिसापिसाब गरेको थाहा पाउनुहुन्न, उहाँ जहाँ बस्यो त्यही दिसापिसाब गर्नुहुन्छ, खाना माग्नुहुन्न तर दिएजति सबै खानुहुन्छ’ महर्जनले बताउनुभयो । 
ट्रमामा उपचार गरिरहेको अवधिमा कुमारको खोजतलासका लागि कोही पनि नआएका कारण समस्या भएको ट्रमा सेन्टरले जनाएको छ । ‘बेवारिसे अवस्थामा राखेर हुँदैन, बिरामीकै वार्डमा यताउता हिँडेर उपचार नै प्रभावित बनाउँछन्, पुलिसलाई बुझाएपछि खोजतलास गरे आफन्त पत्ता लगाउलान् कि भन्ने हो’ महर्जनले भन्नुभयो । 
अस्पतालकै नर्सहरु भने भूकम्पका घाइतेको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने भएकाले यस्तो समस्या आएको बताउँछन् । भूकम्पमा परी घाइते भएका ७२ जना भर्ना भएको काठमाडौको ट्रमा सेन्टरमा अझै ६ जना उपचाररत छन् । 

Post a Comment

 
Top