मकवानपुर, साउन २३ - हेटौडा अस्पतालमा टिटानस विरुद्धको औषधी अभाव भएपछि उपचारमा समस्या भएको छ । अस्पतालमा सुईको माध्यमबाट लगाईने औषधी नहुँदा समस्या भएको हो । टिटानस ईम्युनोग्लोबुटिन नामको औषधी अभाव हुँदा हेटौडाको बसामाडी बस्तिपुरका दिनेश चेपाङका १५ दिनका छोराको उपचार हुन नसकेको अस्पतालले जनाएको छ ।
सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुनुपर्ने औषधी काठमाडौका अस्पतालमा मात्र उपलब्ध गराउने र जिल्ला अस्पतालहरुमा उपलब्ध नगराउँदा समस्या भएको हेटौडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताउनुभयो । 
टिटानसको सुई निजी क्षेत्रका मेडिकलमा खरिद गर्न ४० हजार रुपैँया लाग्छ । तर आर्थिक अभावका कारण खरिद गर्न नसक्दा शिशुको उपचारमा समस्या भएको आमा रोषनी चेपाङले बताउनुभयो । गर्भ अवस्थामा आमाले टिटानसको सुई नलगाएको र शिशु जन्मने वित्तिकै खिया लागेको ब्लेडले नाभी काटेर नबाँधेकाले पनि टिटानस भएको डाक्टर खड्काले जानकारी दिनुभयो । चार दिनदेखि हेटौडा अस्पतालमा भर्ना भएका शिशुलाई काठमाण्डौ रिफर गर्दा पनि परिवारले आर्थिक अभावका कारण लैजान नसकेपछि हेटौडा अस्पतालमा सामान्य उपचार भैरहेको छ । 
आईसियुमा राखेर टिटानसको उपचार गराउनुपर्ने भएपनि आर्थिक अभावका कारण देखाउँदै परिवारले काठमाडौ लैजान नसकेपछि समस्या भएको हो । हेटौडा अस्पतालमा आईसियु पनि नभएपछि उनलाई काठमाण्डूको कान्ति बाल अस्पतालमा लैैजान अस्पताले भनिसकेको छ । तर काठमाडौं लान पैसा नभएकाले बरु शिशुलाई घर लैजाने तयारी गरेपछि हेटौडा अस्पतालमै सामान्य उपचार भईरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । तर उनको अवस्थामा सुधार हुन सकेको छैन । 
दिनेश चेपाङका यी छैटौ सन्तान हुन् । यसअघि चार जना छोरा र एक छोरी छन् । 

Post a Comment

 
Top