ओखलढुंगा, भदौ ३ – वैशाख १२ को भूकम्प र त्यसपछि १३ र २९ गतेका शक्तिशाली पराकम्पबाट घर र आफन्त गुमाएका ओखलढुंगाको २६ गाउँका बासिन्दालाई भूकम्पको पीडा भुल्न नपाउँदै पहिरोले पिरलेको छ ।
भूकम्पले भत्काएको घर गोठ सम्हालेर अस्थायी टहरा बनाएका ती गाउँका स्थानीय निरन्तरको वर्षातपछि बस्ती माथिबाट खसेको पहिरोले टहराबाट समेत विस्थापित हुने अवस्थामा पुगेका छन् । भूकम्पको धक्काले चिरा चिरा परेका बस्ती माथिका पहाड वर्षा हुनासाथ खस्न थालेपछि पहिरोको चपेटामा परेका हुन् । पहिरोको जोखिममा पूर्वको आठौं  स्थानमा रहेको ओखलढुंगामा 
नियमित गइरहेको २२ वटा डरलाग्दा पहिरो बाहेक भूकम्पपछिको वर्षादले अरु डरलाग्दा २६ पहिरो थपिएपछि सिंगो जिल्ला नै पहिरोको चपेटामा परेको छ । अहिले भूकम्पले फुटेका पहाड पानीसँगै पहिरो बनेर बग्न थालेकाले २६ गाउँका स्थानीय नसुतेरै रात काट्छन् । जिल्ला दैवी प्रकोउ उद्धार समितिले गाविस सचिवमार्फत पुनर्बास गर्न चाहनेको सूची मगाएर अध्ययन थालेको बताए पनि स्थानीय आफ्नो थातथलो छोड्न राजी छैनन् ।
अति जोखिमका प्राप्चा गाविसको केउरेनी, हर्कपुरको केराबारी, रगनी, बिलन्दु लगायतका ६ गाउँ स्थानान्तरण गरिएको छ । अन्य उच्च जोखिमका बस्ती स्थानान्तरण गर्न मानेका छैनन् । भूकम्पले चिरिएको पहिरो पानी पर्दा खस्न थाले पनि केउरेनीका स्थानीय विष्णुप्रसाद पोखरेलले गाउँ छोड्न सकेका छैनन् । ‘आफू मात्र भए पो, थातबासदेखि बस्तुभाउ, खेतीपाती सबै यही छ । अर्को स्थानमा आफ्नो जग्गा जमिन,छैन के गर्ने ?’ गहभरी आँसु पार्दै उहाँले भन्नुभयो । शिक्षक टोलहरी पोखरेल पनि गाउँ छोडेर जान तयार छैनन् । ‘यहाँ पोखरेलको चार सय वर्ष पुरानो थातथलो हो, घर छोडेर बास बस्न मात्र कहाँ कसरी जानु ?’ पोखरेलले भन्नुभयो ‘माथिबाट पहिरो आउन थालेको छ, जुनसुकै बेला पुर्न सक्छ ।’ प्राप्चा ८ र ९ वडाका ४८ घरधुरी आफ्नो गाउँ माथिबाट खस्न थालेको पहिरोबाट विस्थापित भएका छन् । पहिरोको चपेटमा परेका प्राप्चाकै वडा नम्बर ३ स्थित मगर गाउँका २३ घर मगर पनि पहिरोको जोखिममा छन् । वैशाख १२ को भूकम्प र पछिका परकम्पले सबैभन्दा बढी प्राप्चा गाविसमा पहिरोको जोखिम बढेको छ । सयौं मिटर लम्बाइ भएका धाँजा गाउँको सिरानबाट फुटेका छन् । प्राप्चामा मात्रै ७१ घर विस्थापित भएका छन् । भूकम्पसँगै चर्किएका पहाड पानी पर्न थालेपछि खसेको पहिरो खस्न क्रम नरोकिएपछि बस्ती जोखिममा परेका हुन्  । प्राप्चाको केउरेनी, हर्कपुरको केराबारी, बिलन्दु गाविसका चार वडा, रगनीको जिली लगायतका बस्ती जोखिममा छन् ।
‘कतै तलबाट पहिरो आउँछ कतै माथिबाट कसरी बस्ने ?’ फूलबारी गाविसका तीर्थ सुवेदीले भन्नुभयो ‘गए कहाँ जाने जानु ।’ पहिरोको उच्च जोखिमका बस्तीलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले जोखिमका बस्ती सार्न सिफारिस गरे पनि कार्यन्वयन हुन सकेको छैन । अन्य पहिरोको जोखिममा रहेका टारकेराबारी, पोकली, विलन्दु गाविसको १, २, ६ र ८ नम्बर वडा वरुणेश्वरको धनेपु, फूलबारीको डडुवा र जल्केनी माधवपुरको वानखु बस्ती पहिरोको जोखिममा परेका छन् । बस्तीमै जमिन फाटेको र बस्ती माथिबाट निरन्तर पहिरो खसेकाले गाउँ जोखिममा परेका हुन् । ‘रातभरी घरमाथि डुङडुङ ढुंगा र पहिरो खस्छ, कतिखेर मरिने हो थाहा छैन ।’ हर्कपुरको केराबारीकी निर्माला सुनुवारले भन्नुभयो ‘हेर्न आउने पुलिस पनि परेबाट भागेर गए, हामी कसरी बस्नु ?’ अन्यत्र जाने विकल्प नहुँदा ज्यानको माया मारेर आफूहरु पहिरो कै डरमा बस्न बाध्य भएको बताउनुभयो । हर्कपुरको केराबारी, उलेर्नी, प्राप्चाको मगरगाउँ र केउरेनीको बस्तीमाथिबाट पहिरो निरन्तर खसिरहेको छ । त्यस्तै खिजीफलाटे गाविस वडा नम्बर १, श्रीचौरको वडा नम्बर ३ र ४, रावादोलुको साब्रा र सिस्तिङ, पात्लेको जेसे, सिंहदेवीको पसलटार, रगनीको जिली र साल्दु गाउँ पहिरोको चपेटामा परेका हुन् । सामान्य वर्षा हुँदैमा निरन्तर पहिरो खस्ने र जमिन फाट्न थालेपछि जोखिममा रहेका गाउँ सार्न संसदीय अनुगमन टोली र राष्ट्रिय मानवअधिकार आयोगले समेत सरकारको ध्यानाकर्षण गराइसकेको छ ।
अनुगमन आउनु भएका सभासद तथा एमाले पोलिटब्यूरो सदस्य गोकुलप्रसाद घर्तीले बस्ती तत्काल सार्न सरकारलाई निर्देशन दिएको बताए पनि कार्यान्वयन भएन । जोखिममा रहेका बासिन्दालाई पुनर्बासका लागि स्थान  र जिल्ला तहमा कार्ययोजना अभावमा तत्काल काम थाल्न समस्या भएको छ । पुनर्बासका लागि स्थान पहिचान गर्ने र पुनर्बास गर्नु पर्ने बस्ती गाविस सचिवलाई किटान गरेर ल्याउन लगाइएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो ।
‘गाविसले पहिचान गरेर विवरण ल्याउने काम भैरहेको छ’ उहाँले भन्नुभयो । सरकारले असार मसान्त भित्रै जोखिमका बस्ती सार्न निर्देशन दिए पनि कुनै बस्ती पुनर्बास गरिएका छैनन् ।  भूकम्पले ओखलढुंगामा २५ हजार घर ध्वस्त भएका छन् भने २१ जनाको ज्यान गएको छ । पीडितले अझै राहत पाइसकेका छैनन् ।

Post a Comment

 
Top