काठमाडौं, भदौ ४ – नेपालले ३७ वर्षअघि एकीकृत सोभियत संघसँग लिएको ऋण यस वर्ष बल्ल तिर्ने भएको छ । सन् १९७८ मा लिएको ११ लाख ६० हजार अमेरिकी डलर ऋण सोभियत संघ विघटन भएको २५ वर्षपछि नेपालले चुक्ता गर्न लागेको हो ।
नेपालले यही हप्ता ११ करोड ६० लाख रुपैयाँ ऋण तिर्न लागेको महालेखा नियन्त्रक कार्यालयका उप महालेखानियन्त्रक रमेश प्रसाद शिवकोटीले बताउनुभयो । शक्तिशाली कम्युनिष्ट शासन रहेको सोभियत संघ हुँदै लिएको ऋणको किस्ता सन् १९९० पछि नेपालले तिरेको थिएन । सन् १९९० मा सोभियत संघ विभाजन भएपछि ऋण तिर्न समस्या भएको नेपालले गएको फागुनमा रसियासँग ऋण तिर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
नेपालले रसियाको ऋण तिर्न अघिल्लो आर्थिक वर्षमा समेत बजेट छुट्याएको भएपनि रसियाकै कारण ऋण तिर्न नपाएको उप–महालेखानियन्त्रक रमेशप्रसाद शिवकोटीले बताउनुभयो । ‘रसिया नटुक्रिंदै लिएको ऋण रहेछ, प्रक्रिया मिलाउनै गाह्रो भयो, तर नेपाल सरकार र रसियन सरकारबीच ऋण तिर्ने सम्झौतामा गत फागुनमा हस्ताक्षर भएपछि ऋण तिर्ने बाटो खुलेको हो’ उप–महालेखानियन्त्रक शिवकोटीले भन्नुभयो ‘अब हामी साता दिन भित्रै तिरिसक्छौं, बजेटको व्यवस्था पनि गरिएको छ ।’

रसियाले दियो ३५ प्रतिशत छुट 

११ लाख ६० हजार अमेरिकी डलर ऋणको २५ वर्षमा सावाँ व्याज कति पुग्ला ? हो त्यति नै पुगेको थियो नेपालले रसियालाई तिर्नुपर्ने ऋणको भार । तर गएको फागुनमा दुई देशबीच कुल सावाँ व्याजको ३५ प्रतिशत छुट दिने सम्झौता भएपछि नेपालले  ११ लाख ६० हजार अमेरिकी डलर ऋणको ११ करोड ६० लाख रुपैयाँ मात्र तिर्नुपर्ने भएको हो ।
नेपालले त्यो ऋण रोजिन एन्ड टर्पाइन कम्पनीका निम्ति लिइएको बताइन्छ । उप–महालेखा नियन्त्रक शिवाकोटीका अनुसार नेपालले विभिन्न बैंक तथा राष्ट्रबाट लिएको ऋणको व्याजमा मात्र बार्षिक ९ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ ।
नेपाललाई आन्तरिक तथा बाह्य गरी ५ खर्ब ४४ अर्ब ६२ करोड १६ लाख ऋण छ । भूकम्पले भत्किएका पूर्वाधार पुनर्निर्माणका लागि यसवर्ष बैदेशिक ऋण लिने प्रस्ताव भएकाले वैदेशिक ऋणको बोझ अझ बढ्ने अर्थविद केशव आचार्य बताउनुहुन्छ ।

Post a Comment

 
Top