जिल्ला अदालतका अनुसार आव २०६९/०७० मा ८५ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएकामा दुई वर्षपछि अर्थात् आव २०७१/०७२ मा त्यो सङ्ख्या झन्डै दोब्बरले वृद्धि हुन गई १४७ पुगेको छ ।
आव २०७०/०७१ मा ९८ वटा मुद्दा दर्ता भएको थियो । गत आवमा दर्ता भएका सम्बन्धविच्छेदका घटनामध्ये ११४ वटाको फैसला भइसकेको छ । सम्बन्धविच्छेद गर्ने १६ देखि ४५ वर्ष उमेर समूहका बढी रहेको अदालतले जनाएको छ । विवाह भएको एक वर्षदेखि ८/१० वर्षसम्ममा अदालतमा घटना दर्ता हुने गरेका छन् ।
विवाहपश्चात् वैदेशिक रोजगारमा गएपछि श्रीमान् श्रीमतीबीच अविश्वास बढ्दै गएर सम्बन्धविच्छेदसम्म पुग्ने गरेको छ । श्रीमान्ले विदेशबाट पठाएको सम्पत्ति लिएर श्रीमतीले दोस्रो विवाह गर्ने तथा श्रीमान् फर्किएर दोस्रो विवाह गर्न बाध्य भएपछि अदालतमा पुगेर सम्बन्धविच्छेद गर्ने गरेका छन् ।
सम्बन्धविच्छेदको अर्को कारण अन्तरजातीय विवाह र कम उमेरमा विवाह गर्नु पनि देखिएको छ । अन्तरजातीय विवाह गरेपश्चात् केही समय श्रीमान् श्रीमतीको सम्बन्ध प्रगाढ बनेपनि त्यो लामो समय नटिक्नु, केही समयपछि परिवार र समाजबाट तिरस्कृत हुँदै जानु तथा कम उमेरमा विवाह गर्नुले सम्बन्धविच्छेदका घटना बढेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्राइले बतााए ।    सम्बन्धविच्छेदपछि त्यसको असर बालबालिकामा पर्ने गरेको छ । बाबुआमा अलगअलग भएपछि ती बालबालिकाको भविष्य अन्योलमा पर्ने गरेकोसमेत श्रेस्तेदार भट्टराई बताउछन्  ।
कानुनमा १६ वर्षमुनिका बालबालिका भए आमाले पाल्ने र बाबुले खर्च व्यहोर्ने भनिएको छ, तर मातृवात्सल्य र अभिभावकत्वको अभाव देखिएको छ, श्रेस्तेदार भट्टराईले भने, ‘बाबुआमाको माया, ममता र साथ नपाएका बालबालिका बरालिएर हिँड्ने गर्दा भविष्यनै अन्योलमा परेका धेरै छन् ।’ अदालतमा पर्ने महिला सम्बन्धिका मुद्दामध्ये ६० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदकै हुने जनाइएको छ ।
- See more at: http://www.khabardabali.com

Post a Comment

 
Top