काठमाडौं, भदौ २ –  ट्रमा सेन्टरमा भूकम्पपछि घाइते भएका ८ जनाको अझै उपचार भैरहेको छ । उपचार भैरहेकामध्ये बेड नम्बर ३ मा ओखलढुङ्गाकी ७ वर्षकी निर्मला परियार पनि छिन् । भूकम्पमा घाइते भएकी उनको दाहिने खुट्टा काटिएको छ । कक्षा ३ मा अध्ययनरत निर्मला अहिले अस्पतालको बेडमै पनि पढेर बसिरहन्छिन् । आप्mनो घाउ सफा गर्ने बेला भएपछि आफ्नै खुट्टामा लगाएको ब्याण्डेज खोल्न थाल्छिन् । 
चैते दशैंमा बुबालाई भेट्न आमासँग काठमाडौं आएकी उनी वैशाख १५ गते गृह जिल्ला फर्किने तर्खरमा थिइन । तर वैशाख १२ गतेको भूकम्पले एकै झड्कामा सबै योजना भताभुङ्ग पारिदियो । काठमाडौंमा सिलाइको काम गर्ने निर्मलाका बुबा छोरीले सात वर्षको उमेरमा एउटा खुट्टा गुमाएकोमा निकै दुखी हुनुहुन्छ । सायद काठमाडौं नआएको भए उनको खुट्टा नगुम्ने थियो कि भन्ने पनि लाग्छ उहाँलाई । तर नियतीको खेल भएकाले लेखेको कुरा जहाँ भए पनि हुन्थ्यो होला भनेर मन बुझाउनुहुन्छ । छोरीको खुट्टा गुमेपछि उहाँ भन्नुहुन्छ –‘उसलाई स्कुलमा धेरै नाच्न र गाउन सिकाउँथे, पढाई पनि राम्रो थियो । अब एउटा खुट्टा नभएपछि मेरी छोरी कसरी स्कुल जालिन् ? अब गाउँ पठाउन सक्ने अवस्था पनि छैन । यहाँ राखेर पढाउने मेरो हैसियत छैन । म के गरौं ? यसको भविष्यको चिन्ताले मलाई धेरै सताउन थालेको छ ।’   
ओखलढुङ्गाकी निर्मलाको बुबालाई जस्तै पीडा सिन्धुपाल्चोक बाँसखर्क वडा नम्बर ८ का मंगले तामाङ्को पनि छ । भूकम्पले भत्किएको घरले ८ वर्षकी छोरी खेन्डु तामाङ्लाई पुर्दा उनीको देब्रे खुट्टामा ठूलो चोट लाग्यो । उनलाई ४ घण्टापछि मात्र भत्किएको घरबाट बाहिर निकालियो । अस्पताल ल्याउन बाटो पनि बन्द भएकाले चार दिनपछि मात्र खेन्डुलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइ पुर्याइयो । उनको ज्यान त बच्यो तर चोट लागेको खुट्टा काट्नुपर्र्यो । खेन्डुका बुबा त्यो दिन सम्झदै भन्नुहुन्छ –‘सुरुमा हड्डी र मासु केहि थिएन, घरले थिचेर सबै चौटा चौटा निस्कियो । हस्पिटल ल्याउँदा किरा परिसकेको थियो । त्यसैले देब्रे खुट्टा काट्नुपर्र्यो ।’
एकातिर कान्छी छोरीको खुुट्टा काट्नु परेको पीडा अर्कोतिर आमा र अर्की छोरीको ज्यान गएकाले उहाँ घाइते छोरीलाई अरुको जिम्मा लगाएर घरमै बस्नुभयो । भत्किएको घरबाट आमा र छोरीको शव ६ दिनमा निकालेर अन्त्येष्टि गरेपछि मात्र तामाङ काठमाडौं आउनुभयो । 
स्वास्थ्य विभागको प्रारम्भिक तथ्याङ्क अनुसार बैशाख १२ गतेको भूकम्पका कारण देशभरका २३ हजार घाइते भएका छन् । तीमध्ये ४३ जनाको खुट्टा काट्नु परेको छ । २ सयजनाको मेरुदण्ड र धेरैको हातखुट्टा भाँचिएको छ । तथ्याङ्क संकलनको काम भैरहेकाले यो संख्या बढ्ने अनुमान गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको अपाङगता रोकथाम तथा पुनस्थापना सम्पर्क इकाइका जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो । उहाँका अनुसार अझैपनि विभिन्न ठाउँमा भूकम्पका कारण घाइते भएकाको उपचार भैरहेको छ । घाइते भएकाहरुको घाउ पाक्न सुरु भएकाले पनि यो संख्या बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । 
भूकम्पका कारण घर भत्किएको र छोराछोरी पनि अपाङ्ग भएपछि धेरै अभिभावक उनीहरुको भविष्यप्रति चिन्तित छन् । एक छाक खान समस्या भएको बेलामा उनीहरुको संरक्षण अरु कसैले गर्दिए हुन्थ्यो भन्ने पनि उनीहरुले सोच्न थालेका छन् । भूकम्पपछि झण्डै तीन सय जनालाई संरक्षण केन्द्रमा पठाइएको स्वास्थ मन्त्रालयले जनाएको छ । भूकम्पका कारण नै अपाङ भएकालाई अहिले शारीरिक र मानसिक हिसावले पनि परिवारको साथ अपरिहार्य छ । त्यसैले पनि यो बेलामा अरुको संरक्षणभन्दा आफुसँगै राखेर ख्याल गर्नु आवश्यक छ । यस्ता विपत्तिपछि बालबालिका झन् जोखिममा पर्ने भएकाले बाबुआमाबाट टाढा नराख्न बाल अधिकारकर्मी गौरी प्रधानको सुझाव छ ।
उहाँ भन्नुहुन्छ –‘बालबालिकाको हित अनुसार आमाबाबुबाट छुट्टिनु नै उसलाई एउटा जोखिम सुरु भयो । अस्थायी घर हेर्दा राम्रो देखिन्न त्यो भन्दा शहरको ठूला घर हेर्दा राम्रो देखिन्छ तर त्यो सुरक्षित छ कि छैन, बालमैत्री छ कि छैन हेर्नुपर्छ । परिवारबाट छुट्टिनु विकल्प होइन । उनीहरु बाबुआमाबाट छुट्टिनु नै जोखिममा पर्नु हो । त्यसैले सकेसम्म आफुसँगै राख्नुपर्छ ।’ अधिकारकर्मी प्रधान थप्नुहुन्छ –‘आफुभन्दा टाढा राख्नै परे, कति समय राख्ने एक महिना ? दुई महिना ? तीन महिना ? त्यो सोच्नुपर्छ तर तीन महिनाभन्दा धेरै आप्mना छोराछोरीलाई टाढा राख्नु भनेको उनीहरुलाई जोखिममा पार्नु हो । त्यसैले ख्याल गर्नु आवश्यक छ ।’

Post a Comment

 
Top