साउन २८ - रामेछापको रामपुर गाविस ६ भञ्ज्याङमा बिजुलीको पसल छ । यही पसल अघिल्तिर बसेर छोराछोरीको कपालमा तेल लगाइदिँदै हुनुहुन्छ भीमबहादुर तामाङ । नुहाएपछि धोइदिएका छोराछोरीका लुगा पसल कै अगाडि तारमा सुकाइएको छ । ‘खाना पकाएर खुवाउँछु अनि सबैथोक ठिक पारेर स्कुल पठाउँछु’ भीमबहादुरले सुनाउनुभयो ‘आमा नभएपनि आमाले गर्ने सबै काम गरिरहेको छु ।’ 
उहाँको स्थायी घर रामपुर गाविसको वडा नं ८, मानेडाँडामा हो । तर अहिले आठ वर्षदेखि रामपुर गाविस ६ भञ्ज्याङमा पसल खोलेर बसिरहनुभएको छ । साथमा छन १३ वर्षका छोरा रोशन र ३ वर्षकी छोरी स्मारिका । दुई छोराछोरी पनि दुई जना आमाका । पहिलो विवाह ५८ सालमा काठमाडौं आउँदा भयो । काठमाडौं भन्दा पनि गाउँमै केही गर्ने  सोचमा गाउँ फर्किंदा श्रीमती गाउँ बस्न मानिनन् । श्रीमती छोरो च्यापेर फेरि काठमाडौं फर्किन् । घरमा बुढा बुबा आमा, आफु सधैं काममै व्यस्त । त्यसैले बुढा बुवाआमाको सहाराका लागि भन्दै दोस्रो बिहे गर्नुभयो । श्रीमानले दोस्रो बिहे गरेको थाहा पाएपछि काठमाडौंमा रहेकी श्रीमती थाहा नै नदिई मलेसिया गइन् । श्रीमती मलेसिया गएपछि भीमबहादुरले छोरालाई गाँउ ल्याउनुभयो ।  
काठमाडौंमा हुँदा सम्पर्कबिहीन जस्तै भएकी जेठी श्रीमती मलेशिया पुगेपछि निरन्तर सम्पर्कमै हुन्थिन् । कान्छी श्रीमतीबाट छोरी जन्मिइन् । केही समयमा जेठी श्रीमती विदामा नेपाल आउने बेला भयो । ‘मैले त उनले बोलाउँछिन् भन्ने सोचेको थिइन, तर लिनलाई आउनु भनेर काठमाडौं बोलाइन्’ भीमबहादुरले सुनाउनुभयो, ‘उनलाई गाउँ लिएर आएँ ।’ जेठी श्रीमती आएपछि त घरमा भएकी कान्छी श्रीमतीले पनि विदेश जाने भन्न थालिन् । धेरै कर गरेपछि उहाँले तीनलाख जम्मा पार्नुभयो अनि दुवै श्रीमतीलाई मलेसिया पठाउनुभयो । 
‘कमाई राम्रै छ रे’ भीमबहादुरले श्रीमतीहरुको अहिलेको अवस्था सुनाउनुभयो, ‘ दुवैले ऋण पनि तिरीसके, घरखर्च पनि पठाउँछन्, छुट्टिको समयमा उनीहरु पनि भेटघाट गर्छन् रे ।’ छोराछोरी स्याहार्ने बेलामा दुवै श्रीमती विदेश गएपनि भीमबहादुर त्यसलाई समस्या ठान्नुहुन्न । पुरुषले गर्ने काम महिलाले गर्ने काम पुरुषले गर्दा किन सकिन्न र भन्ने सोचाइले नै छोराछोरीको स्याहार गरिरहेको बताउनुहुन्छ, भीमबहादुर तामाङ । छोराछोरीले आमाको न्यास्रो नमानुन भनेर उहाँले पसलमा इन्टरनेट जोड्नुभएको छ । त्यसैले उहाँका छोराछोरी दिनहुँ जसो आमाहरुसँग गफ गर्छन् स्काईपमा । अनि भीमबहादुरको विहानको दैनिकी चाहिँ  घरको धन्दा सकेर छोरा छोरीलाई खुवाएर स्कुल पठाउनु हो । 
यसबाहेक सामाजिक काममा संलग्न हुनुहुन्छ - उहाँ । भञ्ज्याङमा रहेको भिमेश्वर मा.वि.को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका तामाङ खानेपानी उपभोक्ता समितिको अध्यक्ष र गाविसको पार्टी प्रतिनिधी पनि हुनुहुन्छ । 
‘कहिले कताको बैठक अनि कहिले कताको छलफल, त्यसैले बेलाबेला त छिमेकीलाई छोराछोरी हेर्दिनु है पनि भन्नुपर्छ’ व्यस्तता सुनाउँदै भीमबहादुरले थप्नुभयो ‘तर श्रीमती विदेश गए भने श्रीमानले छोराछोरीको हेरचाह र घर चलाउन सक्दैनन भन्ने कुरा गलत हो भन्ने देखाउन खोज्दैछु ।’

Post a Comment

 
Top