chiranjivi-poudel
चिरन्जिवी पौडेल 
ती बाबुराम: एक समय, मानौं सिंगो देश डा. बाबुराम भट्टराईको समर्थक थियो । उनले देश हाँक्न पाए भने कायापलटै गर्छन् भन्ने विश्वास गर्थ्यो, जनताको ठूलो हिस्सा । त्यतिबेला गरिएका जनमत सर्भेक्षणहरुमा उनको लोकप्रियता अन्य समकालीन नेताहरुसित अतुलनीय देखिन्थ्यो । यो डा. बाबुराम प्रधानमन्त्री हुनुभन्दा अगाडिको कुरा हो ।
हो, त्यतिबेला आफ्नो राजनीतिक जीवनको उत्कर्षमा थिए उनी । नेपालमा कुनै पनि नेताले बिरलै हासिल गर्ने लोकप्रियता उनले आर्जन गर्नुमा धेरै कारण थिए ।
पहिलो, कहिल्यै पढाइमा दोस्रो नभएको धुरन्धर विद्वानको छवि । पढ्ने समय जेलमा बिताएका नेताहरुको वचश्र्व भएको देशमा विशेषत युवा पुस्ताले सुशिक्षित र भिजनयुक्त नेताका रुपमा उनलाई हृदयमै सजाए । दोस्रो, अर्थमन्त्री हुँदा प्राप्त गरेको सफलता । प्रचण्ड नेतृत्वको सरकारमा एकजना बाबुरामले मात्रै ‘सफल मन्त्री’ को संज्ञापाएका थिए । र तेस्रो, सादगीपूर्ण जीवनशैली बाँचिरहेको शालिन/इमानदार व्यक्तित्व । एमाओवादीका अन्य नेताहरु विकृतिको दलदलमा चुर्लुम्म डुबिसक्दा पनि उनी ओभानै थिए ।
प्रधानमन्त्री भएपछि आफूप्रतिको जनविश्वासमाथी न्याय गर्ने प्रयास नगरेका होइनन् । उनले नेपालमै बनेको मुस्ताङ म्याक्स गाडी चढेर सत्ता सञ्चालनको यात्रा थाल्दा काठमाडौंमा थुप्रै युवायुवती ‘बाबुरामलाई काम गर्न देउ’ भनेर लेखिएको टिशर्ट लगाएर फोटो खिच्न थालेका थिए । तर, मुस्ताङ गाडीमा झल्किएको उनको राष्ट्रवाद मुस्ताङ गाडीमै सीमित रह्यो, एक कदम पनि अगाडि बढेन ।
सुरुमा वाहवाही लुटेको यो मुस्ताङ गाडी पछि एउटा पाखण्डको बिम्ब मात्र बनेर रह्यो । देशको प्रधानमन्त्री स्वदेशी गाडी चढ्दा अघिपछि गुड्ने गाडीहरु विदेशबाट आयातित थिए । आफूबाहेक अरु कसैलाई पनि उनले मुस्ताङ चढाउन सकेनन् र अन्तिममा आफैंले पनि त्यागे । उनको कार्यकालको एक मात्र सफलता थियो काठमाडौंको सडक फराकिलो बनाउनु ।
यी बाबुराम
करिब चार वर्षपछि डा. बाबुरामका लागि समय मानौं एक सय ८० डिग्रीमा घुमेको छ । त्यतिबेला चरम लोकपि्रय छवीका साथ देशको प्रमुख कार्यकारी पदमा उक्लेका बाबुराम अहिले पार्टी र संसदबाट बाहिरिदा लोकका पि्रय छैनन् । ठूलो हताशाका बीच, संभवतः आवेशमा आएर पार्टी छोड्ने घोषणा गर्दा उनीसित कोही सहयात्री छैन, न छ भावी योजनाको प्रष्ट खाका । उनको बहिर्गमनप्रति जनमानसमा कौतुहलता त देखियो, तर सहानुभूति देखिएन । सामाजिक सञ्जालमा लेखिएका टिप्पणीलाई जनमत मान्ने हो भने त उनले अब राजनीति नगर्दा पनि हुन्छ ।
जस्तोसुकै आलोचना पचाउन सक्ने नेताका रुपमा चिनिन्छन् डा. बाबुराम । तर, आलोचना सहनु मात्रै नेताको गुण होइन, आलोचनाबाट पाठ सिकेर आफूलाई सच्याउनु पनि हो । अन्यथा नेता र डनमा कुनै भेद रहँदैन ।
यो क्षणमा डा. बाबुरामले सम्भवतः आफूलाई एकपटक ऐनामा हेर्नेछन्/हेर्नुपर्छ । उनले आफैंलाई सोध्नुपर्छ, म कहाँ चुकेँ ? यदि उनको ऐनाले इमान्दारितापूर्वक बोल्यो भने मूलतः तीनवटा आरोप लगाउने छ । पहिलो, तिमीले राष्ट्रिय चिन्तन त्यागेर उग्र जातिवादी कुण्ठालाई श्रीपेचको रुपमा धारण गर्‍यौं र युगौंदेखि आपसमा मिलेर बसेका जनतालाई जातीय नाराहरु घोकाएर एक अर्काविरुद्ध लड्न निम्ति उत्प्रेरित गर्‍यौं, । दोस्रो स्वदेशभन्दा छिमेकी देशको अनुकुलतामा आफूलाई ढाल्यौं र आफ्नो राष्ट्रियताप्रतिको प्रतिवद्धतामा शंका गर्नेहरुलाई आधार दियौं । तेस्रो, आफैं संलग्न भएर संविधानविरुद्ध आफैंले असन्तुष्टीको मुड्की उज्यायौं ।
गुमेको मौका
वैशाख १२ मा आएको महाभुकम्पपछि बाबुरामको लोकप्रियता पुनस्र्थापित हुने छनक देखिएको थियो । उनले प्रधानमन्त्री बन्दा काठमाडौंको सडक फराकिलो बनाएकेा प्रसंग भुकम्पमा धेरैले सम्झे । साथै पुनर्निमाणको काममा उनको भौतिक सक्रियता पनि चर्चाको विषय बन्यो । बाबुरामलाई पुनर्निमाण प्राधिकरणको नेतृत्व दिनुपर्छ भन्ने आवाज सामाजिक सञ्जालमा बाक्लै थियो ।
तर, त्यसको केही समयमै बाबुराम फेरि हिरोबाट जिरोमा झरेका छन् । यो स्खलन यति तीव्र भयो कि बाबुरामले सायद केही सोच्ने मौका समेत पाएनन् । संविधान निर्माणको अन्तिम समयमा देखाएको चिडचिडाहटले गर्दा उनले यस प्रक्रियामा आजसम्म गरेको सम्पूर्ण योगदान धुलिसात भएको छ । दिनभरि दुख गरेर कमाएको पैसा राति जाँड खाएर सकेको एक मजदुर जस्तो देखिए उनी ।
जस सबै प्रचण्डलाई
संविधान निर्माणलाई अन्तिम विन्दूसम्म ल्याउँदा प्रचण्डको भन्दा बाबुरामको भूमिका कयौं गुणा बढी छ भन्ने लोकलाई थाहा नभएको होइन । खासमा एमाओवादीमा शान्ति र संविधानसभाको एजेण्डालाई स्थापित गराउने व्यक्ति प्रचण्ड होइन, बाबुरामको हुन् । प्रचण्ड त उनीसित लतारिएर आएका मात्रै हुन् । तर, अन्तमा संविधान निर्माणको जस प्रचण्डले लगे, अभागी बाबुरामको भागमा अपजस मात्रै पर्‍यो । पकाउने काममा आफ्नो सारा उर्जा खर्च गरेका बाबुरामले पस्किने बेलामा आफैं फन्किँदै छोडेर हिँडे ।
जातजातिलाई उक्साएर एक-अर्काविरुद्ध लडाउनेमा सिद्धहस्त प्रचण्डले पछिल्लो कालखण्डमा आन्तरिक र बाह्य दवाव झेल्दै संविधान निर्माणको पक्षमा दह्रोसँग उभिएर आफूलाई राम्रैसित चोख्याए । अपजस जति अभागी बाबुरामको थाप्लोमा पर्‍यो ।
चिसो राष्ट्रवाद !
बाबुरामका विरोधीहरुले उनीमाथि दुईवटा सामानान्तर आरोप लगाउने गर्छन् । एउटा भारतपरस्त र अर्को श्रीमतीपरस्त । दोस्रो आरोपलाई एउटा नेताको सामान्य कमजोरीको रुपमा लिएर नजरअन्दाज गर्न पनि सकिन्छ तर पहिलो आरोप अत्यन्त संगीन छ । विगतमा बाबुराममाथि जूनसुकै कोणबाट भारतपरस्तको आरोप लागेपछि त्यो काल्पनिक मात्र प्रतीत हुन्थ्यो । प्रचण्डले उनलाई सिध्याउन निकालेको नक्कली हतियारका रुपमा यसलाई हेरिएको थियो । किनकि भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेको कुराले मात्रै यो आरोप पुष्टि हुन सक्ने थिएन । जबकि प्रचण्डकै राष्ट्रवाद भने बतासे टाइपको थियो र छ । दिउँसो खुलामञ्चमा भारतलाई चर्को गाली गर्ने उनी राति लैनचौरमा डिनर खान पुग्थे ।
तर, पछिल्ला दिनहरुमा धेरै मानिस आशंका गर्न थालेका छन्, प्रचण्डको हतियार सक्कली त थिएन ? संविधानका सन्दर्भमा बाबुराम र भारतका अडानमा तात्विक भिन्नता नदेखिनु संयोग मात्रै हो भन्ने मान्न धेरै मानिसहरु तयार छैनन् । जब उनले फेसबुकमा ‘२४ घन्टाभित्र देशको अखण्डता रहने वा नरहने भनेर फैसला हुनेछ’ भन्ने आशयको स्टाटस लेखे, देशको राष्ट्रवादी तप्काले उनलाई नयाँ लेन्डुपदोर्जेको रुपमा लिन थाल्यो ।
फेसबुकमा आलोचित
यो लेख थाल्नुपूर्व मैले बाबुराम भट्टराईको फेसबुक पेजमा नजर दौडाएँ । गत १८ अगष्टमा उनले हिमाल पत्रिकाले गरेको जनमत सर्भेक्षणको झलकलाई सेयर गरेका छन्, जसमा सोधिएको छ संविधानपछि प्रधानमन्त्री को ? जसमा १०.४ प्रतिशत जनताले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको देखिन्छ, जून समकालिन नेताहरुमा सबैभन्दा बढी हो ।
जबकि चार वर्षअघि अनलाइनखबरले गरेको सर्भेक्षणमा ८० प्रतिशतभन्दा बढी जनताले प्रधानमन्त्रीमा उनलाई चाहेको देखिएको थियो । ८० प्रतिशतबाट १० प्रतिशतमा झर्दा पनि उनले सगर्व यो सर्भेक्षणलाई सेयर गर्नु अस्वभाविक थिएन, किनभने अरु नेताहरु उनीभन्दा पनि तल थिए ।
भदौ ४ गते उनले यस्तो देखिने भयो संघीय नेपाल भन्दै दलहरुबीचको सहमति अनुरुप बनेको संघीय खाकासहितको नेपालको नक्शा देखाए । भोलिपल्ट भदौ ५ गते उनले ‘सकारात्मक सोचका साथ संविधान बेलैमा जारी गर्ने प्रयत्न गरौं भन्दै जनजाति महिला, दलितहरुलाई सम्वोधन गरेर टिप्पणी लेखे, यहाँसम्म ठिकै थियो ।
गत भदौ ७ गते भएको कैलाली आक्रमणपछि उनको ‘लाइन’ मा गडवडी पैदा भयो र त्यहीँबाट सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उनीमाथि जाइलाग्न थाले । सो घटनाको विषयमा भदौ ८ गते लेखेको स्टाटसमा उनले नृशंस आक्रामणको भत्र्सना गर्नेभन्दा पनि घुमाउरो ढंगले आक्रामणकारीको बचाउ गर्ने प्रयत्न गर्दै टिप्पणी लेखे ।
उनको टिप्पणीमा करिब सात हजार प्रतिक्रियाहरु आएका छन् । अधिकांस प्रतिक्रियाहरुमा उनीविरुद्ध चर्को आक्रोश झल्किन्छ । त्यसपछि उनले आफूलाई अलिकति सच्याउन खोज्दै कैलालीमा मारिएका एसएसपी लक्ष्मण न्यौपानेको घरमा पुगेर परिवारलाई सहानुभूति दिए र त्यसको फोटो १३ भदौका दिन फेसबुकमा हाले । तर उनीमाथि गाली आउने क्रम रोकिएन ।
डा. बाबुरामलाई सबैभन्दा आलोचित तुल्यायो उही राष्ट्रिय अखण्डताको छिनोफानो सम्वन्धी स्टाटसले । यसमा यति उग्र गालीहरु उनलाई आएका छन् कि एउटा राजनीतिज्ञले योभन्दा बढि कल्पना पनि गर्न सक्दैन ।
बाबुरामका ६ विकल्प
Baburam-Bhattrai
डा. बाबुराम आफ्नो चार दशक लामो राजनीतिक जीवनको कठिनतम मोडमा छन् । उनले सम्भव भएसम्मको सबैभन्दा गलत समयमा पार्टी र संसद छोड्ने घोषणा गरे । अनायास पार्टी त्याग्ने घोषणा गर्दा बाबुरामसित भावी योजनाका खाकाहरु के छन् भन्ने देखाएनन् । तर, संभवतः उनी आफैं अनिश्चयको भुमरीमा छन् । डा. बाबुरामसित अब बाँकी विकल्पहरु यस्ता छन् :
१. एमाओवादीभित्र आफूनिकट नेताहरुलाई पार्टीबाट उप्काएर ल्याउने र नयाँ क्रान्तिकारी पार्टी गठन गर्ने । वैद्य माओवादी, विप्लव माओवादी जस्तै भट्टराई माओवादी बन्न सक्छ । यद्यपि निभेका बाबुरामलाई साथ दिन आफ्नो कति नेता आउछन् भन्न सकिने अवस्था छैन । आउँदो चुनावमा एकाध सिट जितेर साना दलको हैसियत पाउने भन्दा ठूलो भविष्य हुने देखिदैन ।
२. पार्टी बाहिर विभिन्न क्षेत्रमा क्रियाशील नागरिक अगुवाहरुलाई संकलन गरेर पार्टी बनाउने र त्यसलाई नयाँ शक्तिको नाम दिने । भारतमा रहेको आम आदमी पार्टी जस्तै सोचमा यसलाई स्थापित गराउन प्रयास गर्ने । यद्यपि बाबुरामले जातीय एजेण्डाहरु नत्यागेसम्म यसमा फराकिलो दायराका व्यक्तिहरु समेटिन कठिन छ ।
३. उनी केही समय वा लामै समय स्वतन्त्र बस्न सक्छन् । पद्मरत्न तुलाधर वा मल्ल के सुन्दर जस्तै एउटा स्वतन्त्र कम्युनिस्ट नेता वा वामपन्थी चिन्तकको रुपमा पहिचान बनाएर अखबारहरुमा अन्तरवार्ता दिने वा पत्रिकामा लेखहरु लेख्ने गर्न सक्छन् ।
४. मधेसी दलहरुसित सहकार्य गर्न उनीहरुले चलाएको आन्दोलनलाई अभिभावकत्व दिन सक्छन् । तर, यसबाट उनको बचेखुचेको साख पनि धुलिसात हुने बाहेक अर्को उपलब्धि हुने देखिदैन ।
५. सक्रिय राजनीतिबाट सन्यास लिएर एउटा प्राज्ञ वा विचारकका रुपमा आफूलाई रुपान्तरण गर्न सक्छन् । जीवनयापनका लागि कलेजहरु पढाएर बाँकी समय अध्ययन र लेखनमा बिताउन सक्छन् । यसबाट उनलाई व्यक्तिगत आत्मसन्तुष्टि मिल्ने भएता पनि उनले आजसम्म राजनीतिमा गरेको लगानी खेर जाने छ ।
६ आफ्नो निर्णय फिर्ता लिएर पार्टीमा फर्किन सक्छन् । यद्यपि बाबुरामको स्वभावलाई हेर्दा यो सम्भावना झिनो देखिन्छ ।

Post a Comment

 
Top