काठमाडौं, असोज ९ - राष्ट्रपति डा. रामवरण यादवले तराई मधेसमा देखिएको असन्तुष्टिलाई तत्काल वार्ता र संवादको माध्यमबाट हल गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति डा. यादवले अध्यक्ष दाहाललाई यस्तो आग्रह गर्नु भएको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिनुभयो । 
भेटवार्तामा संविधान जारी भइसकेपछिको मुलुकको पछिल्लो राजनीतिक अवस्था र  समाधानको उपायका बारेमा छलफल भएको थियो । 
त्यस अवसरमा अध्यक्ष दाहालले प्रमुख तीन दल वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न प्रयत्नशील रहेको र सोही दिशामा संवादको प्रक्रिया अगाडि बढाइएको राष्ट्रपति डा यादवलाई जानकारी गराउनु भएको थियो ।

अध्यक्ष ठाकुरसँग भेटवार्ता

यसैगरी राष्ट्रपति डा. यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच पनि समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । 
राष्ट्रपति डा यादवले तराई मधेसको समस्या समाधान गर्न तत्काल वार्ता र संवादको प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको बताइएको छ । संविधान जारी भएपछि राष्ट्रपति डा यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहनुभएको छ । 

Post a Comment

 
Top