नवलपरासी, असोज ६ – भारतले पेट्रोलियम पदार्थलगायत अन्य सामग्री आयातमा कढाइ गरेको हल्लाका कारण पेट्रोल पम्पमा सवारी साधनको घुइँचो लागेको छ । 

मोटरसाइकल र अन्य सवारी साधनहरु पेट्रोल भर्न लाइन लागेपनि तेल नपाएर फर्केका छन्  । गैंडाकोटदेखि सुनवलसम्मका पेट्रोल पम्पहरुले सहजरुपमा  पेट्रोल नदिएको  सवारी चालकले गुनासो गरेका छन्  । 
कावासोतीको नवलपुर पेट्रोल पम्प बन्द रहेको छ । अन्य पेट्रोल पम्पले भने विभिन्न बहाना बनाएर पेट्रोल  नदिएको उपभोक्ताले गुनासो गरेका छन्  । पेट्रोल व्यवसायीले भने आफूसँग भएसम्म पेट्रोल दिने जनाएका छन् । मधेसमा भइरहेको बन्दको फाइदा उठाउँदै व्यापारीहरुले उपभोग्य बस्तुमा कालोबजारी गर्दा उपभोक्ता मर्कामा परेका छन्  ।
अहिलेसम्म कालोबजारी  भएको उजुरी नपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पेट्रोलियम पदार्थमा मिसावटको कुरा आएको  थियो त्यसमा हामीले निगरानी गरेका छौँ’ सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले  भन्नुभयो, ‘ गैरे पेट्रोल पम्पमा मिसावट भएको उजुरी आएपछि गुणस्तर तथा नापतौल  केन्द्रमा  मापनका लागि पठाएका छौँ ।’ 

Post a Comment

 
Top