१२ असोज, जनकपुर । जनकपुरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थितिमा नयाँ संविधानको प्रति जलाइने भएको छ । एमाओवादीका असन्तुष्ट मधेसी नेताहरु र मधेसी मोर्चाबीच मंगलबार भट्टराईको उपस्थितिमा नयाँ संविधानको प्रति जलाउने सहमति भएको हो । यससँगै मधेसी मोर्चाले पनि भट्टराईको स्वागत गर्ने भएको छ । भट्टराई नयाँ संविधान निर्माणका सबैभन्दा महत्वपूर्ण मानिएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति थिए । तर, नयाँ संविधाान घोषणासँगै भट्टराईले सार्वजनिक रुपमै मधेसी, थारु, जनजातिलाई सम्बोधन नभएको भन्दे असन्तुष्टि जनाएका थिए । पूर्व प्रधानमन्त्री भट्टराईले शनिबार एमाओवादी र संसद सदत्य परित्यागको घोषणा गरे । तर, मधेसी मोर्चाले भट्टराईको जनकपुर भ्रमणमा अवरोध गर्ने बताएपछि राष्ट्रिय मधेसी मुक्ति मोर्चाले वार्ता गरेका थिए । वार्तामा नयाँ संविधानको मधेस विरोधी दफा जलाउने सहमति भएको राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माले अनलाइनखबरलाई जानकारी दिए । ‘यो संविधानको मधेस विरोधी दफाहरुको हामीले विरोध गर्दै आएका थियौं । उहाँहरुले त्यसलाई जलाउने माग राख्नु भएको थियो । हामीले सहमति दिएका छौं’ शर्माले भने । साथै माओवादीका नेताहरु माओवादीको व्यारनमा नभई मधेस जनआन्दोलन समिति, धनुषाको व्यानरमा आन्दोलनमा उत्रने सहमति भएको छ । नेता शर्माका अनुसार अब जनकपुरमा हुने भट्टराईको स्वागत कार्यक्रममा मधेसी मोर्चाका नेता कार्यकर्ता समेत सहभागी हुने छन् ।

Post a Comment

 
Top