काठमाडौं, असोज ६ – काठमाडौं उपत्यकामा स्वाइन फ्लु देखिएको छ । रुघाखोकी र ज्वरो आएर उपचारका लागि टेकु अस्पताल पुगेका चार जनालाई स्वाइन फ्लु भएको पुष्टि भएको हो ।

मंगलबार अस्पताल पुगेका भक्तपुरका एकजना बिरामीसहित काठमाडौंका तीन जनालाई स्वाइन फ्लु लागेको पुष्टि भएको अस्पतालका डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक हप्ताभित्र चार जनामा स्वाइन फ्लु भएको पाइएको हो । अरु बिरामीलाई पनि स्वाइन फ्लु भएको हुन सक्ने आशंका गरिएको छ ।
काठमाडौं बाहिरका जिल्लामा पनि स्वाइन फ्लुको जिवाणु सक्रिय भएको डाक्टरको अनुमान छ । छिमेकी राष्ट्र भारतमा धार्मिक भ्रमणमा गएका केहीमा स्वाइन फ्लुको लक्षण भेटिएको तर पुष्टि हुन बाँकी रहेको डाक्टरले बताएका छन् ।
टेकु अस्पतालमा अहिले हरेक दिन ५/६ जना रुघाखोकी र ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । नेपालमा गर्मीबाट जाडो लाग्दा र जाडोबाट गर्मी लाग्दा स्वाइन फ्लुको खतरा धेरै हुन्छ ।

यसरी बँच्न सकिन्छ स्वाइन फ्लुबाट

नेपालमा गर्मीबाट जाडो लाग्दा र जाडोबाट गर्मी लाग्दा स्वाइन फ्लुको खतरा धेरै हुन्छ । त्यसैले यस्तो बेला सावधानी अपनाउनु पर्ने डाक्टर बताउँछन् ।

स्वाइन फ्लुबाट कसरी जोगिने त ?

  • घरबाहिर निस्कदा सधैँ मास्क लगाउने
  • रुघाखोकी लागेका व्यक्तिबाट टाढै बस्ने । कम्तिमा एक मिटरको दूरी कायम गर्ने । यदि रुघाखोकीका विरामीको स्याहार गर्नु परे हातमा पन्जा र मुखमा माक्स लगाउने ।।
  • एक पटक प्रयोग गरिसकेको रुमाल वा अरु सामाग्री सफा गरेर मात्र प्रयोग गर्ने
  • घाँटी दुखे र रुघाखोकीसँगै ज्वरो आए तुरुन्त स्वास्थ्य जाँच गराउने
  • साबुन पानीले कम्तिमा २० सेकेन्ड सम्म हात धुने
  • घरका सदस्य कसैलाई स्वाइन फ्लु भएको छ भने अलग्गै सफा कोठामा राख्ने

Post a Comment

 
Top