काठमाडौं, असोज ८ – इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उलल जोहा) आज मनाइँदैछ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।

नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार शुक्रबार बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ ।  बकर इद तीन दिनसम्म मनाइन्छ । बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले इस्लाम धर्मावलम्बीको महान पर्व बकर इद (इद–उल–जोहा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उहाँले  भौगोलिक, जलवायु र जैविक विविधतायुक्त नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै हरेक जातजातिको आ–आफ्ना मौलिक भेषभूषा, रहनसहन र संस्कृतिमा नेपालीबीचको एकताले मुलुक सबल र सुदृढ हुँदै जाने बताउनुभएको छ ।

Post a Comment

 
Top