असोज ६ – इंग्लिस क्लब चेल्सीका स्टाइकर डिएगो कोस्टामाथि तीन खेलको प्रतिबन्ध लागेको छ । खेलको क्रममा विपक्षी टिमका खेलाडीमाथि हिंसात्मक व्यवहार देखाएको भन्दै फुटबल एशोसिएसन एफएले कोस्टामाथि तीन खेलको प्रतिबन्ध लगाएको हो ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएको शनिबार राति भएको खेलमा कोस्टाले आर्सनलका खेलाडी लरेन्ट कसिएल्नीमाथि हिंसात्मक व्यवहार गरेको तथा कोस्टा र आर्सनलका गेब्रियलबीच मैदानमै झगडा भएको थियो । एफएले यो घटनामा कोस्टासँग स्पष्टी करण मागेको थियो । कोस्टाले आरोप अस्वीकार गरेपनि एफएले उनीमाथि तीन खेलको प्रतिबन्ध लगाएको हो ।
कोस्टाले खेलको ४३ औं मिनेटमा बल नियन्त्रणमा लिने क्रममा आर्सनलका खेलाडी कसिएल्नीलाई हातले धकेलेर भूइँमा लडाएका थिए । यो घटना रेफ्रिले नदेखे पनि भिडियो फुटेजमा देखिएको एफएले जनाएको छ । कोस्टाले अब लिग कप फुटबलमा बुधबार हुने वालसलसँगको खेल तथा प्रिमियर लिगमा न्युक्यासल र साउथह्यामप्टन विरुद्धको खेल गुमाउने छन् ।
शनिबार रातिको खेलमा कोस्टासँग झगडा गरेर रातो कार्ड पाएका आर्सनलका गेब्रियलमाथिको तीन खेलको प्रतिबन्ध हटेको छ । गेब्रियलले गरेको अपिल एफएले स्वीकार गरेको हो । प्रिमियर लिग अन्तर्गत गएको शनिबार राति भएको खेल चेल्सीले २–० ले जितेको थियो ।
Subscribe to:
Post Comments (Atom)

Post a Comment