चितवन, असोज ७ – चितवनको मेघौली विमान स्थल फेरि सञ्चालनमा ल्याउनका लागि पहल सुरुभएको छ । बन्द विमानस्थललाई तीन महिना भित्र सञ्चालनमा ल्याउने तयारी लागेको जिल्लाका सरोकारवालाले बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि लक्षित गरी सञ्चालनमा ल्याइएको मेघौली विमानस्थल सशस्त्र द्वन्द्वको समयमा बन्द भएको थियो । विक्रम सम्वत २०१७ सालमा निर्माणकार्य सुरुगरी केही वर्षपछि प्रयोगमा अएको विमानस्थल तत्कालिन अवस्थामा राजपरिवार चितवन राष्ट्रिय निकुञ्जमा सिकार खेल्न आउनको लागि प्रयोग गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र होटल टाइगर टप्स स्थापना भएपछि होटलमा आउने विदेशी पर्यटकका लागि पनि मैघौली विमानस्थल प्रयोगमा आएको थियो । एक हजार पाँच सय वर्ग मिटर क्षेत्रफल रहेको विमानस्थलमा दैनिक १० वटासम्म उडान भएको तथ्यांक छ ।
नेपालकै पुरानो विमानस्थल लामो समयदेखि बन्द हुँदा निकुञ्ज घुम्न आउने पर्यटक र स्थानीय बासिन्दालाई असर परेको भन्दै सञ्चालन गर्नको लागि पर्यटन व्यवसायी तथा सरोकारवालाले पहल थालेका हुन् ।
विमानस्थल सञ्चालनमा बन्द हुँदा आर्थिक गतिविधिमा असर परेको भन्दै सञ्चालनका लागि पर्यटन मन्त्रालयमा दबाब दिइएको छ । मेघौलीका अगुवा, पर्यटन व्यवसायी, ठुला होटल सञ्चालक तथा अन्य उद्योगी व्यवसायी पर्यटन मन्त्रालयमा पुगेर आउँदो तीन महिनाभित्रमा सञ्चालन गर्ने गरी दबाब दिएको पर्यटन विकास समिति चितवनका अध्यक्ष दिलिप मैनालीले बताउनुभयो ।
मेघौली विमानस्थल अवको तीन महिनाभित्र सञ्चालन हुने गरी केन्द्रमा पहल भएको उहाँले बताउनुभयो । चितवनका पर्यटन व्यवसायी, उद्योगी, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाको पहलमा पर्यटन मन्त्रालयमा जानकारी गराएर सञ्चालन गर्न पहल गरेको पर्यटनका जानकार विश्वराज सुवेदीले बताउनुभयो ।

Post a Comment

 
Top