काठमाडौं, असोज ६ – प्रधानमन्त्री सुशील कोइरालाको न्युयोर्क भ्रमण रद्द हुने भएको छ । यसबारे औपचारिक निर्णय हुन बाँकी भएपनि उहाँ नजाने सम्भावना धेरै रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले यसबारे औपचारिक निर्णय भैनसकेको बताउनुभयो । संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन प्रधानमन्त्री बुधबार न्युयोर्क जाने पूर्व निर्धारित कार्यक्रम थियो ।
मुख्य तीन दलको बैठकपछि मात्र उहाँको भ्रमणबारे टुंगो लाग्नेछ । तराईमा आन्दोलन कायमै रहेको बेला असन्तुष्ट दलसँगको वार्ता छाडेर भ्रमणमा नजान कोइरालामाथि दबाब बढेको छ । प्रधानमन्त्रीको भ्रमण र अरु समसामयिक विषयबारे छलफल गर्न मुख्य तीन दलको बैठक बस्दैछ ।
मधेस केन्द्रित दलले उठाएका माग सम्बोधन गर्नेबारे मुख्य तीन दलबीच बुधबार पनि छलफल हुँदैछ । तीन दलको छलफलमा नेपालको संविधानप्रति भारतीय प्रतिक्रिया र मधेस केन्द्रित दलको मागको विषयमा पनि कुराकानी हुनेछ । यस विषयमा दलहरुबीच मंगलबार पनि छलफल भएको थियो ।

Post a Comment

 
Top