भक्तपुर, असोज १० – तराई मधेस लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेसका नेताहरुसँग तराईको समस्या समाधान गर्नेगरी तीनदलीय प्रस्ताव आए वार्तामा बस्न तयार रहेको बताएको छ । 

आइतबार सानोठिमी स्थित तमलोपा अध्यक्ष महन्त ठाकुर निवासमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, वनमन्त्री महेश आचार्य, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, नेताहरु हृदयश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्लाबीच भएको भेटमा तमलोपाले  यस्तो प्रस्ताव राखेको हो । 
वार्तापछि जानकारी दिँदै नेता त्रिपाठीले वार्तामा नेपाली कांग्रेसले मात्रै नभई कांग्रेस, एमाले र एमाओवादी तीनवटै दलका तर्फबाट मधेसको मागलाई सम्बोधन गर्ने प्रतिबद्धतासहित वार्ताको प्रस्ताव आए छलफलमा बस्न तयार हरेको जानकारी दिनुभयो ।
‘तीनदलले संयुक्त रुपमा मधेसको मागलाई सम्बोधन गर्ने प्रतिबद्धतासहित वार्ताको प्रस्ताव आएमा छलफलमा बसेर वार्ताबाटै समस्या समाधान गर्न तयार छाँै’ त्रिपाठीले भन्नुभयो ‘यही प्रस्ताव हामीले राख्यौ ।’ 
मधेसमा उब्जिएको समस्याको समाधान गर्न कांग्रेस र तमलोपाबिच छलफल भएको हो । मोर्चाको प्रस्तावलाई कांग्रेसका नेताहरुले सकारात्मक रुपमा लिएको ठाकुर निकट स्रोतले जनाएको छ ।

Post a Comment

 
Top