पाल्पा, असोज १३ – देशभर इन्धनको अभाव भइरहेको बेला मानिसहरु त्यसको विभिन्न विकल्प खोज्न थालेका छन् । के होला त इन्धनको विकल्प ? पाल्पाका एक युवा सजिवनको तेल डिजेलको विकल्पका रुपमा हुने बताउँछन् ।

सजिवनको दाना पेलेर डिजेल, सल्लाको खोटोबाट पेट्रोल निकाली गाडीनै चलाएर सफल परिक्षण गरेका केशब कार्की भन्नुहुन्छ ‘खाडीमा मात्रै होइन, तेल नेपाली झाडीमा पनि पाईन्छ ।’  मदनपोखरा–४ जरेपिपल पाल्पाका कार्कीले २०६५ सालमै सजिवनको  दाना तोरी पेल्ने मेशिनमा पेलेर तेल निकाली गाडीमा डिजेलको सट्टा राखेर गाडी चल्छ भन्ने प्रमाणित गर्नुभएको थियो । 
तानसेनमा घरघरमा ट्यांकरबाट पानी बोक्ने काम गर्दा बेलाबेलामा भैरहने पेट्रोलियम पदार्थको अभावले कार्कीसँग ग्राहकलाई पानी दिन नसकेको थुप्रै उदाहरण छ । उहाँ आफूलाई त्यतीबेलै पानी जस्तै खोला नालाबाट तेल बाड्न पाए कस्तो हुन्थ्यो भन्ने खुब लागेको बताउनुहुन्छ । एकदिन, छिमेकीले घरमा सजिवनको दाना सिन्कोमा रोपेर बत्ती बालेको देखेपछि उहाँको मनमा सजिवनको तेल बाट ईन्धन बन्न सक्ने बिचार पलायो । 
घर नजिकै रहेको जंगलबाट १८ किलो सजिवनको दाना टिपेर तोरी पेल्ने मेसिनमा पेल्दा कार्कीले ६ लिटर तेल निकाल्नु भएको थियो । उहाँले सोही तेललाई आफ्नै ट्याकटरमा राखी २०६५ साल साउन २५ गते जरेपिपलदेखि हार्थोकसम्म झण्डै ५० किलोमिटर चलाउनुभएको थियो । 
उहाँले सजिवनको तेलबाट ट्याकटर चलाउँदा तत्कालिन प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, प्रहरी प्रमुख र जिल्लाका पत्रकारहरु साक्षि बनेका थिए । त्यसको एक महिना पछि कार्कीको समुहले तत्कालिन बन तथा भुसंरक्षण मन्त्री किरण गुरुङ्गलाई काठमाडौंमा भेटेर सजिवनबाट निकालिएको पाँच लिटर तेल उहाँकै गाडीमा राखेर बबरमहलदेखि तीनकुनेसम्म घुमाएका थिए । 
त्यतिबेला छुट्टै संयन्त्र बनाएर सरकारले सजिवनको तेल उत्पादन गर्न सहयोग गर्ने आस्वासन पाएका कार्कीलाई मन्त्री गुरुङले सरकारले बायो ईन्धन उत्पादनको लागी नयाँ नीति र कार्यबिधि ल्याउने बताउनुभएको थियो ।
सजिवनको दानाबाट डिजेलको बिकल्प भेटाएका कार्कीले सल्लाको चोपको तेल निकालेर मोटरसाइकल पनि चलाएर देखाउनुभयो । उहाँले सल्लाको खोटोलाई रक्सी बनाउने घरेलु प्रविधिबाट तेल निकालेर मोटरसाइकल चलाउनुभएको थियो । सल्लाको खोटोबाट निकालिको तेलबाट सदरमुकाम तानसेनमा पनि दर्जन बढी युवाहरुले मोटरसाइकल चलाएर र्‍याली नै निकालेका थिए । 
सल्लाको खोटो प्रतिकिलो ६ रुपियामा पाईन्छ,  त्यसमा १३ प्रतिशत कर तिर्नुपर्छ । कार्की भन्नुहुन्छ जति खर्च जोडेपछि ५० रुपियाको लागतमा एक लिटर पेट्रोल बन्न सक्छ । दुई किलो सल्लाको खोटो बाट एक लिटर पेट्रोल निश्किने उहाँको भनाई छ ।
 पाल्पाबाट मात्रै वार्षिक २५ टन सल्लाको खोटो बाहिर जाने जिल्ला बन कार्यालय पाल्पाले जनाएको छ । पाल्पाकै खोटो प्रयोग गरेपछि बार्षिक १२ टन बढी पेट्रोल निकाल्न सकिने कार्कीको अनुमान छ । पाल्पाबाट यसको सुरुवाट गरौँ भनेर धेरैलाई भनेपनि कसैले वास्ता नगरेको उहाँको गुनासो छ । 
उहाँले १ लाख सजिवनको  बिरुवा लगाउनुभएको छ । एक हजार बिरुवा लगाएमा एक कृषकले बार्षिक १ लाख कमाउने उहाँले बताउनुभयो । बिरुवा लगाएको एक बर्षमा सजिवनले फल दिन सुरु गरेपनि ४ वर्ष पछि राम्ररी फल दिने बताउने केशब भन्नुहुन्छ ‘ तीन किलो बराबर सजिवनको दाना बाट एक लिटर तेल निकाल्न सकिन्छ ।’
 
बजारमा अहिले पनि १५ रुपियामा एक किलो सजिवनको दाना पाईन्छ । दुई वर्ष सम्म किसानले उत्पादन गरेको सजिवनका दाना गरिद गर्नुभएका कार्कीले कतैबाट सहयोग नपाएपछि त्यसै छोडिदिनुभयो ।
बाबु बाजेले दात माझ्ने दन्तमन्जनको रुपमा प्रयोग गर्ने सजिवन मझौला रुख हो । एउटा हागो लगाएपछि स–साना हागा निस्किएर झुण्ड हुने भएकाले गाउँ घरमा बारको रुपमा यसको प्रयोग गर्ने चलन छ । सजिवनको दाना भित्र ४, ५ बिया हुन्छन् । बिया निकालेर मेसिनमा पेलिन्छ । त्यसबाट लेदो अवस्थाको तेल निस्किन्छ ।  लेदो तेललाई १४ देखि १८ घण्टासम्म फिल्टरको अवस्थामा राखिन्छ  र गाडीमा प्रयोग गर्न सकिने उहाँको अनुभव छ । 
तेलको अभाव हुँदा मात्रै आफ्नो कामको चर्चा हुने भन्दै कार्कीले पछिल्लो समय सञ्चार माध्यमले पनि जैविक ईन्धनको बारेमा कुरा गर्न छाडेको गुनासो गर्नुभयो । 

Post a Comment

 
Top