काठमाडौं, असोज ९ । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेका छन् ।

नेता भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए । उनले शनिबारै (आज)देखि व्यवस्थापिका संसदको सदस्यबाटसमेत राजीनामा दिएका छन् ।

संसद सदस्यबाट राजीनामा दिएको पत्र सभामुख सुवास नेम्वाङलाई बुझाइसकेको पनि भट्टराइले बताए ।

नेता भट्टराईले आफू नयाँ ढंगले अघि बढ्ने पनि बताए । उनले पूँजीवादी क्रान्ति सम्पन्न गर्न नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था आएको भन्दै केही समय स्वतन्त्र नागरिकको हैसियतमा रहने बताए ।

अहिले नयाँ पार्टी गठन गर्ने/नगर्ने विषयमा निश्कर्षमा पुगिनसकेको भन्दै उनले केही समय स्वतन्त्र रहने बताएका हुन् ।

संविधानसभाबाट संविधान जारी गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि सबै जनतालाई सन्तुष्टि दिलाउन नसकेको भन्दै भट्टराइले तराईका जिल्लालाई दुई प्रदेशमा विभाजित गर्नुपर्ने आफ्नो धारणा रहेको पनि बताए ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालतिर संकेत गर्दै उनले अहिलेको राजनीतिक दलका नेताहरुमा नक्कली राष्ट्रवाद मात्र रहेको आरोप पनि लगाए ।

भारतले अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै त्यसको विरोध गर्नुपर्ने र भारतसँगको असमझदारी कुटनीतिक रुपमा हल गर्दै जानुपर्ने भट्टराईको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नेता भट्टराईले एमाओवादीका अध्यक्ष दाहाल कहिल्यै संविधानसभाको पक्षमा नहरहेको दाबी गर्दै संविधानसभा आफ्नो एजेन्डा भएको भनाइ पटक–पटक दोहोर्‍याएका थिए ।

भट्टराइले पार्टी परित्याग गरेसँगै दाहाल र बाबुराम भट्टराईको तीन दशक लामो राजनीतिक सहकार्य पनि तोडिएको छ । 

Post a Comment

 
Top