जाजरकोट, असोज ११ – खाद्य संकट परेको जाजरकोटको उत्तरी बारेकोट क्षेत्रमा खाद्य संस्थानले चामल पुर्‍याएको छ । बारेकोट क्षेत्रमा तत्काल चामल पठाउने ब्यवस्था मिलाउन खाद्य ब्यवस्था समितिले निर्णय गरेको दुई महिना पछि चामल पुगेको हो । 
बारेकोटका चार गाविस नायकबाडा, रामिडाँडा, सक्ला र रोकायगाउँ चार गाविसका २० हजार मानिसहरु भोकमरीको मारमा परेका थिए । 
जाजरकोटमा यो वर्ष फौजी किराको प्रकोपले मकैबाली सखाप भएपछि भोकमरी बढेको रोकायगाउँ ९ का भीमराज सिंहले बताउनुभयो । केही वर्षअघि बारेकोटमा अन्न फालाफाल हुन्थ्यो । यहाँको अन्न जुम्ला, डोल्पा, मुगु जिल्लाका मान्छेले लिने गर्थे । तर हिजोआज उत्पादन घटेर खाद्य संकट निम्तिएकोे गाउँलेको भनाई छ । गाउँघरमा परम्परागत खेती प्रणाली कायम रहेको र आधुनिक कृषि खेती हुन नसक्दा भोकमरी बढेको स्थानीयबासिन्दा बताउँछन् ।
चामल आएको एकै दिनमा एक सय ३६ क्वीन्टल चामल सकिएको खाद्य संस्थानका शाखा प्रमुख धर्मबहादुर बस्नेतले बताउनुभयो । ‘अरु पनि पठाईरहेका छौं, माग धेरै आएको छ’ उहाँले भन्नुभयो ।

Post a Comment

 
Top