काठमाडौं, असोज ६ – १२ वर्षे जात्राको क्रममा रातो मच्छिन्द्रनाथको रथलाई भैसेपाटीबाट तानिदैछ । बुधबार रथलाई भैसेपाटी हुँदै नख्खु खोलामा तानिने रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनुभयो ।

रथलाई पुलबाट नभएर खोलाबाट नै तानिनु पर्ने परम्परा छ । यसरी खोलाबाट रथ तान्ने बेला नदीमा नाग प्रकट हुने र नदीमा पानीको सतह पनि बढ्ने जनविश्वास छ । नदीमा नाग प्रकट हुने भएकोले मौसम धुमिलो भएर मेघ गर्जनसहित पानी पर्ने जनविश्वास छ ।
रातो मच्छिन्द्रनाथको मूर्तिमा रहेको नागलाई भेटन् नागिनी आउने जनविश्वासमा रथलाई केही समय नदीमा राखिने गरिन्छ । नाग नागिनीको भेट १२ वर्षमा एक चोटी हुने लोककथन छ । त्यसैले रथलाई आधा घण्टासम्म नख्खु नदीमा राखिने बाराहीले बताउनुभयो ।
नख्खु नदीबाट रथलाई तानिने बेलामा अरु बेलाभन्दा पनि धेरै भक्तजनको सहभागिता हुने गर्छन् । नख्खु नदीबाट रथलाई विष्णुदेवी हुँदै एकान्तकुनासम्म पुर्‍याइने तयारी भएको छ । यसपाली १२ वर्षे रथ जात्रा भएकोले रथलाई बुंगमतीबाट तानेर पाटनको भित्री शहर परिक्रमा गरेर जावलाखेलमा भोटो देखाए पछि फेरि बुंगमतीमा नै रथ तानेर फर्कानेछ ।
बुंगमती पुगेपछि फेरि भोटोजात्रा हुनेछ । यसअघि गएको वैशाख ६ गते रथ बुंमतीमा मूर्तिलाई रथारोहण गरी वैशाख ९ गतेदेखि रथ जात्रा सुरु गरिएको थियो । तर वैशाख १२ को भूकम्पका कारण रोकिएको रथलाई शान्ति स्वस्ति पूजा सहित पछि छ्यासीकोटबाट तानेर अघि बढाउँदा रथ भत्किएकोले रथ फेरि बनाएर हिजोदेखि रथ तान्न सुरु भएको हो ।

Post a Comment

 
Top