Petrol Line
१० असोज, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि राजधानीका अधिकांश पेट्रोलपम्पहरु बन्द छन् । खुलेका सीमित पेट्रोलपम्पहरुमा इन्धन भर्नेहरुको लामो लाइन छ ।
भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा डिजेल र पेट्रोल भर्नेहरुको लाइन माइतीघर मण्डलासम्म छ । चर्को घाममा घण्टौंसम्म लाइनमा बसेर इन्धन भर्न बाध्य छन् सर्बसाधारणहरु । घण्टौंसम्म लाइनमा बसे पनि चाहेजति पेट्रोल र डिजल नपाएको गुनासो उनीहरुको छ ।
भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल पम्पले पाँच सय रुपैयाँको मात्रै पेट्रोल दिने गरेको छ ।
माइतीघरबाट खोलिएको नयाँ सडकमा बाइकहरुको लाइन छ भने सिंहदरबारको पश्चिम गेटतर्फ चार पाङ्ग्रे गाडीहरुको लाइन छ । काठमाडौं उपत्यकामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका पेट्रोलपम्पबाट मात्रै तेल वितरण भैरहेको छ ।
संविधानमा असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले भन्सार क्षेत्रमै धर्ना बसेर आवात-जावत ठप्प पारेपछि आइतबार पनि भारतबाट मालवाहक गाडी र पेट्रोलियम पदार्थ ढुवानीका गाडीहरु नेपाल भित्रिएका छैनन् ।
इन्धनको हाहाकार भएपछि सरकारले आइतबारदेखि जोर बिजोर प्रणालीबाट सवारी साधन सन्चालनको व्यवस्था मिलाएको छ । इन्धन अभावले कम मात्रै गाडी चलेकाले सँधै भिडभाड हुने काठमाडौंका सडक सुनसान जस्तै छन् ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top