काठमाडौं असोज ८ – स्कुलबाट सधैंजसो पाँच बजे नै घरको ढोका टेकिसक्ने छोरा ७ बजेसम्म पनि नफर्के पछि बुबा आमा साह्रै चिन्तामा परे । छोराको सहपाठीलाई फोन गरौं भने नम्बर पनि थिएन । श्रीमान् श्रीमतीबीच छोराको खोतलास गर्ने कुरा भैरहेकै बेला टुप्लुक्क आईपुगे छोरा । 

स्कुलबाट ढिला आएपछि आमाले सोधपुछ नगर्ने कुरै भएन । आमा बिन्द्रा विश्वकर्माले छोरालाई ढिला गरी फर्कनुको कारण सोध्न थाल्नुभयो । छोराले खासै चित्तबुझ्दो जवाफ नदिएपछि आमाले केही गाली पनि गर्नुभयो । २०७२ असोज ४ गते सोमबार बेलुकीको समय थियो । झण्डै ८ बजेको हाराहारीमा घर आईपुगेका छोरा सबैलाई कोठामा ताला लगाईदिएर एकाएक बेपत्ता भए । 
भान्छा कोठामा रहेकी आमा बाहिर निस्कन खोज्दा ढोका नखुलेपछि छोराले नै यस्तो बदमासी गरेको होला भन्ने लाग्यो उहाँलाई । उहाँले माइलो छोराको सहायतामा ढोका खोल्नुभयो । भान्छा कोठाबाट निस्केर श्रीमान सुतेको कोठामा जाँदा त्यहाँ पनि ढोका बन्द थियो । त्यतिञ्जेलमा विश्वकर्मा दम्पतीका कान्छा छोरा  विवश जंग विश्वकर्माले बुबा दिल बहादुर विश्वकर्माको बा. ४० प. ७७०५ को होन्डा युनिकर्न मोटरसाइकल लिएर भागिसकेका थिए ।
लुभु महालक्ष्मी नगरपालिका वडा नंं ७ मा रहेको आफ्नै घरबाट वेपत्ता भएका विवशजंग अझै सम्म फेला परेको छैन । हराएको दिनदेखि निरन्तर खोजीमा रहेका विश्वकर्म दम्पतीले खोजी कार्यमा सहयोग गरिदिन प्रहरीमा पनि निवेदन दिएका छन् । १५ बर्षका विवश जंग लुभु माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छन् । उनले घरबाट निस्केपछि उनका साथी प्रशान्तलाई नखिपोट स्तुपा अगाडिबाट र ताल्छिखेलको मिलनचोकबाट फोन गरेको समेत देखिन्छ । 
विवश जंग परिवारका कान्छो छोरा हुन् । विवशलाई कोही कसैले देखे भेटेमा मोबाइल नं. ९८४१४७००१८ मा सम्पर्क गर्न सकिने उनको परिवारले जनाएको छ । 

Post a Comment

 
Top