काठमाडौं, असोज ११ – नुवाकोटका कुमार लामाले ट्याक्सीमा पेट्रोल भर्न लाइन बसेको १८ घण्टा भैसक्दा पनि पाउनुभएन । ‘नेपाली सेनाको भद्रकालीको पम्पमा तेल दिन्छ रे’ भन्ने सुनेर आइतबार दिउँसोदेखि माइतिघर नजिकैबाट लाइनमा बसेका कुमारले खाना पनि खान पाउनुभएन ।
रातभरी ट्याक्सीको सिट फोल्डिङ गरेर बस्नुभयो । बा १ ज ८२५६ नम्बरको ट्याक्सी चलाउने कुमारले यो काम थालेको २० वर्ष भयो । अहिलेसम्म यस्तो समस्या कहिले नभोगेको उहाँ बताउनुहुन्छ । ‘यसअघि पनि लाइनमा त बसिन्थ्यो तर दुई दिन भोकभोकै 
लाइन बसेको मलाई याद छैन’ उहाँले भन्नुभयो ‘रातभर लाइनमा बस्दा लामखुट्टेले कति टोके कति झिमिक्क आँखा पार्न सकेको छैन । राती भद्रकाली मन्दिरमा गएर २५ रुपैयाँ तिरेर एक कप चिया खाइयो अनि बिहानै एक कप दहि खाइयो भोकले मर्ने बेला भैसक्यो ।’ 
घरमा ग्यास छैन, दुई जना छोराछोरीलाई के खुवाउनु भन्ने पीर पनि उत्तिकै छ कुमारलाई  । ‘बुढीलाई सुख दिन भनेर काठमाडौं ल्याइयो बिचरीले दुःख मात्रै पाएकी छे’ कुमारले ठ्टटा पनि गर्नुभयो । भद्रकालीमा मात्रै रातभरी लाइन बस्ने सयौं चालकको पीडा उस्तै छ । भोक तिर्खा, अनिदो अनि शौचालयको समस्याले पिरोलेको छ । ‘भात खान जाउँ भने लाइन सर्ला भन्ने डर नजाउँ पेट सुकिसक्यो कसरी दिन काट्ने हो’ अर्का ट्याक्सीचालक ललित लामाले भन्नुभयो ‘खान मात्र नपाएको भए त हुन्थ्यो नि, ट्वाइलेट नभएर धेरै दुःख पाइयो वरिपरी सार्वजनिक शौचालय पनि छैन कहाँ जानु ?’ घरमा श्रीमतीलाई ग्यासको लाइन बस्न पठाएको पनि दुई दिन भयो, बिहानदेखि रातीसम्म लाइनमा बस्छिन छोराछोरी स्कुल जान पनि पाएका छैनन् । अझै एक दुई दिनसम्म यस्तै भयो भने ट्याक्सी साहुजीलाई बुझाएर घर जाने ललित लामाले बताउनुभयो । ‘कि भारतबाट तेल ल्याउने वातावरण मिलाउनु पर्‍यो होइन भने अर्को विकल्प ल्याउनुपर्‍यो कहाँ कसरी लड्नुपर्छ हामी तयार छौं, सधैंभरी यसरी भारतको खप्की खाएर बस्न हामी सक्दैनौं’ ललितले रातभरको अनिदो झोंक पोख्नुभयो । पम्पको गेटमा ताला झुन्डेको देखेपनि इन्धनको आशामा काठमाडौंका पेट्रोलपम्ममा हजारौंको भिड लागेको छ । तेल पाइने नपाइने निधो नै नगरी धेरै ट्याक्सी चालक रातभरी लाइनमा बसेका छन् । २२ बर्षदेखि काठमाडौमा ट्याक्सी चलाएका सिन्धुलीका केशर लामाले पनि अहिलेसम्म यस्तो समस्या कहिल्यै नदेखेको बताउनुहुन्छ । भद्रकालीको पम्पले इन्धन दिन्छ भन्ने सुनेर लाइन बसेका केशरले भन्नुभयो ‘हिजोदेखि लाइनमा बसेको छु राती शौचालयको समस्या भयो, पहिला नागरिक दैनिकमा चिनजान थियो माइतिघरदेखि सुन्धारा पुगेर शौचालय  गरेँ ।’ पाखुरा देखाउँदै केशरले भन्नुभयो ‘यी लामखुट्टेले टोकेर शरीरभरी फोका आएका छन्, रातभरीको अनिंदोले ज्वरो आउला जस्तो पनि छ, यसरी कति दिन चल्ला र खै ?’

Post a Comment

 
Top