काठमाडौं, असोज १२ – मंगलग्रहमा बग्दै
गरेको पानी रहेको पत्ता लगाउने वैज्ञानिकको टोलीमा नोपली वैज्ञानिकले
महत्वपूर्ण भूमिका निभाएका छन् । अमेरिकामा रहेका नेपाली वैज्ञानिक
लुजेन्द्र ओझासहितको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासामा आवद्ध
वैज्ञानिकको टोलीले मंगलग्रहको सतहमा बगेको पानी रहेको नयाँ तथ्य सार्वजनिक
गरेको छ ।
नेपाली
युवा वैज्ञानिक ओझासहितको आठ जना वैज्ञानिकको समुहले नासाको अन्तरिक्ष
यानले पठाएका पछिल्ला तस्बिरका तथ्यको विश्लेषण गरी मंगलग्रहमा बगेको
अवस्थामा पानी रहेको पत्ता लगाएको हो । टोलीमा ओझासँग वैज्ञानिकहरु म्यारी
वेथ विलहेल्म, स्कट एल मुर्चेइ, अलफ्रेड एस एमसिइवेन, जेम्स जे वरे, जेनिफर
ह्यानले, मारिवन मासे र म्याट चोज्यानकीको टोलीले नयाँ तथ्य सार्वजनिक
गरेको हो ।
आफूलाई लुजु ओझाका रुपमा चिनाउने नेपाली
वैज्ञानिक ओझाले अहिले अमेरिकाको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट
अन्तरिक्ष विज्ञानमा विद्यावारिधी गरिरहेका छन् । ओझासहतिको
वैज्ञानिकको टोलीले मंगलग्रहमा बगेको अवस्थामा पानी भेटिनुले त्यो ग्रह
अहिले पनि भौगोलिक रुपमा सक्रिय रहेको पुष्टी हुने र यसले त्यहाँ मानव
बस्तीको सम्भावनाका बारेमा अनुसन्धान गर्न सकिने बताएका छन् ।
नासाले सोमबार राति पत्रकार सम्मेलन गरेर
मंगलग्रहमा बगेको अवस्थामा पानी रहेको पुष्टी भएको जनाएको छ । पत्रकार
सम्मेलनमा वैज्ञानिकले अन्तरिक्षबाट प्राप्त तस्बिरमा चार ठाउँमा पानी
बगेको देखिएको धर्सा देखिएको जनाएका छन् । यसले त्यहाँ भर्खरै पानी बगेको
हुन सक्ने वैज्ञानिक ओझाले बताएका छन् ।
पहिले जमेको अवस्थमा नुनिलो पानी भेटिएको
ठाउँमा अहिले पानी बगेको धर्सा देखिएकाले त्यहाँ बगेको अवस्थामा पानी रहेको
पुष्टी हुने वैज्ञानिक ओझाले बताएका छन् । चिसो समयमा जमेको पानी गर्मी
लाग्दै गएपछि तलर बनेर बगेको वैज्ञानिकको दाबी छ ।
Post a Comment