काठमाडौं, असोज ८ – प्रमुख तीन दलको बिहीबार राति बसेको बैठकले भारतीय सीमामा भएको अवरोध हटाउन राजनीतिक र कूटनीतिक वार्ता गर्नेे निर्णय गरेको छ । भारतीय भन्सार नाकाबाट नेपाल भित्रिने गाडीमा भारतले लगाएको रोकबारे छलफल गर्न बिहीबार अबेरसम्म तीन दलको बैठक बसेको थियो । 

तीन दलको बैठकपछि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बिहीबार देशको कुनै भन्सार नाकामा नेपालको तर्फबाट अवरोध नभएपनि भारतले नेपालतर्फ सवारी साधन आउन नदिएकोबारे बैठकमा जानकारी गराउनुभएको थियोे । 
तीन दलकाे बैठकअघि बालुटारमा नै देशको वर्तमान सुरक्षाको अवस्थाबारे सुरक्षा समितिको बैठक बसेको थियोे । सुरक्षा समितिको बैठकमा प्रधानसेनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले देशको पछिल्लो सुरक्षा स्थितिबारे प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई अवगत गराएका थिए । पछिल्लो बैठकमा सुरक्षा समितिको बैठकको निर्णय बारे प्रधानमन्त्री र उपप्रधानमन्त्रीले तीन दलका शीर्ष नेताहरुलाई जानकारी गराएका हुन् ।
बैठकले नाकामा भइरहेको अवरोध ठिक नभएको भन्दै समस्या समाधानका लागि भारतसँग राजनीतिक र कूटनीतिक तवरमा वार्ता गर्ने निर्णय गरेको हो । त्यस्तै मधेसमा आन्दोलनरत दलहरुलाई पनि आन्दोलन बन्द गरेर वार्तामा आउन बैठकबाट आह्वान गरिएको बैठकमा सहभागि एक नेताले बताउनुभयो । तराई मधेसमा भइरहेको आन्दोलनमा सुरक्षा संयन्त्रको परिचालन कसरी गर्ने भन्ने बिषयमा पनि तीन दलको बैठकमा छलफल भएको थियो ।
यसअघि बसेको सुरक्षा समितिको बैठकले तराई मधेसमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन विस्थापित प्रहरी चौकीहरु पुनःस्थापित गराउने निर्णय गरेको थियो ।
बिहीबार बिहान बसेको तीन दलको बैठकले सेना फिर्ता गर्ने निष्कर्ष निकालेको भएपनि मोर्चा अझै वार्तामा बस्न तयार नदेखिएको शीर्ष नेताहरुले बताएका छन् । त्यसैले तीन दलको बैठकले भन्सार नाकामा सुरक्षा व्यबस्था थप बलियो बनाउन एकीकृत सुरक्षा योजना बनाउने सहमति गरेको हो । 

Post a Comment

 
Top