झापा, असोज ११- झापाको गरामनी– ४ की २५ वर्षकी डम्बरकुमारी पाण्डेलाई आठ वर्षदेखि फलामे सांलोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ ।
नेपाल प्रहरीको जागिर खाएर अपराधमा संलग्नलाई हत्कडी लगाउने सपना बोकेकी पाण्डे आफ्नै घरमा गएको आठ वर्षदेखि फलामे सांलोले बाँधिएर पशुसरह जीवन बिताउन बाध्य हुनुहुन्छ । भद्रपुरस्थित वीरेन्द्र नमुना उच्च माविमा कक्षा ८ मा अध्ययनरत भएकै बेला उहाँ प्रहरी बन्ने सपना बोकेर साथीहरुसँग नवलपरासी जानुभएको थियो ।
त्यहाँ  दौडने क्रममा चिप्लिएर लडेपछि उहाँको सपना चकनाचुर मात्र भएन त्यसकै कारण डम्बरकुमारी अहिलेसम्म पनि सांलोमा बाँधिएर नारकीय जीवन बिताउन बाध्य हुनुहुन्छ । सुरुमा मानसिक सन्तुलन नगुमेकी उहाँको विस्तारै मानसिक सन्तुलन गुमेर अहिलेकरो अवस्थामा आइपुगेको उहाँको परिवारले जनाएको छ । बुबाको निधनपश्चात ७४ वर्षीया वृद्धा आमा हरिमाया, दाजु कमल र भाउजु मैना पाण्डेले गएको आठ वर्षदेखि उहाँलाई फलामे सांलोले घरको एउटा कोठामा बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ । एउटा खुट्टामा फलामे चेनले बाँधिएकी डम्बरकुमारीलाई आमा र भाउजुले अहिले हेरचाह गरिरहेका छन् ।
'महिला प्रहरीमा जागिर खाने रहर बोकेकी मेरी छोरी साथीहरुसँग त्यही खेलकुद गर्ने क्रममा लडेकी थिइन र लड्दा उसको टाउकोमा चोट लागेपछि नवलपरासीबाट घर ल्याएका थियौं ।' आमा हरिमायाले भन्नुभयो 'छोरीको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि झापाका विभिन्न धामीझाँक्रीलाई देखायौँ तर पनि सञ्चो नभएपछि उपचारका लागि काठमाडौं लगियो । त्यहाँ लगेर मानसिक रोग विशेषज्ञलाई देखायौँ तर पनि उसको शारीरिक अवस्था ठीक भएन ।'
डम्बरकुमारीकी भाउजु मैनाले नन्दको उपचारका लागि जग्गा जमिन बेचेर चार लाख खर्च गरेर उपचार गराए पनि रोग निको नभएको र थप उपचारका लागि रकम नहुँदा समस्या भएको बताउनुभयो ।

Post a Comment

 
Top