पाल्पा, साउन ७ - छोरो पाएकी एक अविवाहित युवतीले आरोप लगाएपछि मुद्दा खेपेका पूर्वी  पाल्पाका २५ बर्षिय हिमाल थापा मगर (नाम परिबर्तन)ले ३ वर्षपछि मुतिm पाएका छन् । त्योपनि ३ लाख रुपैंया खर्च गरेर । 
कुरा  २०६९ साउन १९ गतेको हो । सदरमुकाम तानसेनबाट एसएलसी परीक्षा दिएर गाउँ फर्केकी १७ वर्षिया अविवाहित युवतीले छोरो पाएपछि गाउँभरी हल्ला चल्यो । गाउँलेको भेलामा युवतीले भनिन्, ‘छोरोको बाबु हिमाल थापा हो ।’ 
हिमाल गाउँभरीका केटाहरुमा सोझो थिए । कक्षा १२ मा पढ्दै गर्दा दुबईको  भिसा लागेपछि उनी सात महिनाअघि मात्रै त्यहाँ पुगेका थिए । काम सकेर कोठामा फर्किने बित्तिकै हिमाललाई बाबाले फोनमा भन्नुभयो–गाउँकी अनिता (नाम परिबर्तन) ले छोरो पाई, उनले तेरो हो भनेकी छिन् ।  गाउँलेले भित्राईदे भनेछन् के गरौं ?
आफुले मेरो हैन, मलाई दोष मात्रै लगाएका हुन् भन्दा त्योबेला बाबुले पनि बिश्वास नगरेको हिमालले सुनाए । अदालतबाट आफूलाई झिकाउने आदेश आएको जानकारी पाएपछि उनी नेपाल फर्किए । जुनबेला  अदालतले फैसला नगर्दासम्म मासिक १० हजार रुपैंयाका दरले हिमालले केटीपक्षलाई रकम दिनुपर्ने गाउँलेले निर्णय गरेका थिए ।
गाउँबाट अदालतमै मुद्दा पुगेपछि उनको बयान लिईयो । उनले अदालतमै भने–मैले गल्ती गरेको छैन, मलाई सोझो देखेर फसाउन लागेका हन् ।  युवतीले पटक पटक उनैलाई दोषी देखाएपछि हिमालको तर्फबाट बहस गरेका अधिवक्ताले डिएनए परीक्षण गर्ने प्रस्ताव गरे । युवतीको पक्षले मानेनन् । 
दोषी खुट्याउने कुनै उपाय नलागेपछि केटी पक्ष ६ महिनापछि राजी भयो । २०७१ साल जेठ महिनामा काठमाडौंमा युवती, छोरो र हिमालको डिएनए परीक्षण गरियो । त्यसको ३ महिनापछि नै केटी पक्षले गाउँभरी हल्ला फैलाए– रिपोर्ट आयो, छोरो हिमालकै रहेछ । 
गाउँमा फैलिएको हल्लाले हिमालका ७० बर्षिय बुवा र ६३ बर्षिया आमाले एकहप्ता भोकै बसे । ‘मलाई धेरै पीडाा भयो’ हिमालेले सम्झिए, ‘बुढा बा र आमाले लिएको पीरले मलाई झन गलायो ।’
परीक्षण गरेको एक वर्षपछि २०७२ असार २८ मा डिएनएको  रिपोर्ट आयो , नेगेटिभ भनेर ।  गएको असार ३१ गते जिल्ला अदालत पाल्पाले हिमाललाई निर्दोष ठहर गर्र्यो । 
‘दुबई जाँदा, आउँदा लागेको ऋण तिर्नै पाएकै छैन । काठमाडौं जाँदा, अदालतमा धाउँदाको खर्चको हिसाबै भएको  छैन, क्यास त ३ लाख खर्च भैसक्यो’ आँसु झार्दै हिमालले पटक पटक भने, ‘निर्दोषले न्याय पाउन पनि महंगो भो, समय र खर्चको कुरै छाडौं ।’
अदालतबाट सफाई पाएपनि गाउँले र छिमेकीको नजरमा नराम्रो मान्छे बन्नु परेकोमा हिमाल दुखी छन् । ‘अदालतले त सफाई दियो, गाउँले र छिमेकीले कहिले विश्वास गर्ने हुन् ?’ उनले प्रश्न गरे । 
‘छोरो बिदेश गएपछि कमाएर बुढेसकालमा सहयोग गर्ने आशा थियो’ हिमालकी आमाले भनिन्, ‘मन नपरेको मान्छेलाई जे भनेर पोले पनि हुने जमाना आयो, धन्न भगवान छन्, हामीलाई माथिबाट हेरेछन् ।’ 
हिमालले गाली बेइज्जती मुद्दा हाल्ने सोच बनाएका छन् । ‘मेरो जिन्दगी बर्बाद पार्न खोजेका थिए, सकेनन्’ हिमालले भने, ‘निर्दोषले न्याय पाउछँ भन्थे ! हो रैछ ।  तर दोषीलाई के कारबाही हुन्छ हेर्न बाँकी छ ।’

Post a Comment

 
Top