काठमाडौं, साउन १६ - विश्व क्रिकेट लिग च्याम्पियनसिपको वर्षाले रोकिएको नेपाल र स्कटल्याण्ड बिचको खेल शनिबार पुन हुने भएको छ । रोकिएकै स्थितिबाट शनिबारको खेल पुन खेल सुरु हुने छ । जस अनुसार स्कटल्याण्डले जितका लागि अब २० दशमलव २ ओभरमा ९५ रन बनाउनु पर्ने छ । र उसको १० विकेट बाँकी छ । स्कटल्याण्डको आयरमा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ६७ रन मात्र बनाएको थियो । जस अनुसार स्कटल्याण्डले १ सय ६८ रन बनाउनु पर्ने भएपनि वर्षाका कारण तत्काल खेल सुरु हुन सकेन । पछि पानी पर्न छाडेपछि खेल सुरु भयो र स्कटल्याण्डलाई डकवर्थ लुईस मेथड अनुसार २२ ओभरमा १ सय १० रन बनाउनु पर्ने लक्ष्य दिईयो । तर स्कटल्याण्डले १० बल मात्र खेलेर १५ रन बनाएपछि फेरि पानी पर्न थाल्यो र खेल शनिबार लागि सारियो । नेपाली ब्याटिङ निक्कै फितलो रह्यो । नेपालका लाग शरद भेषावकरले सबैभन्दा धेरै ३० रन बनाए । बसन्त रेग्मी १९ तथा अविनाष कर्ण १७ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र पृथु बास्कोटा समान १६ रन बनाएर आउट भए । कप्तान पारस खड्काले १० रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । ८ टिम सहभागी यो प्रतियोगितामा नेपालले पहिलो चरणमा स्कटल्याण्डको भ्रमण गरेको हो । २ वर्षसम्म होम एण्ड अवेका आधारमा चल्ने प्रतियोगिताको शीर्ष ४ मा पर्ने टोलीले सन् २०१९ को विश्वकप क्रिकेटको छनौट खेल खेल्न पाउने छन् ।

Post a Comment

 
Top