काठमाडौं, साउन १३ - सोमबार बेलुका निधन भएका भारतका पुर्व राष्ट्रपति एपिजे अब्दुल कलामले भनेका छन् ‘पहिलो सफलतामा चित्त नबुझाउ किनभने दाश्रोपटक तिमी असफल हुँदा हज्जारौ मानिसले त्यो सफलता तिमीले भाग्यले गर्दा मात्र हासिल भएको भनेर खिल्ली उडाउनेछन् ।’
ट्वेन्टी–ट्वेन्टी विश्वकपमा छनोट नहुने वित्तिकै नेपाली क्रिकेटका धेरै समर्थकले नेपाल भाग्यकै भरमा अर्थात कागताली परेर मात्र अघिल्लोपल्ट विश्वकपमा छानिएको भनेका थिए । स्कटल्याण्डसँग उसकै घरेलु मैदानमा बुधबार विश्व लिग च्याम्पियनसिपमा खेल्नुअघि नेपाली टीम मुख्य ४ वटा चुनौतीले घेरिएको हुनेछ ।

पहिलो–गुमेको लय

दोश्रो –बलियो प्रतिद्वन्द्वी

तेश्रो –५० ओभरको खेल

र चौथो –टीमको समन्वय ।

कुनैपनि खेल चुनौतीबिनाका हुँदैनन् । अझ क्रिकेटजस्तो अनिश्चित खेलको नतिजाको भर हुँदैन । तर खेलअघि टीमले देखाएको फर्म र प्रदर्शनका आधारमा टीमको खेलको विश्लेषण र अनुमानसम्म गर्न सकिन्छ ।
नेपालस्कटल्याण्डसंग खेल्नुअघि नतिजा के होला भन्ने अनुमान गर्ने हो भने नेपालले खेल जित्ने सम्भावना न्यून मात्र छ भन्न सकिन्छ । यसका कारणहरु तिनै हुन जुन चुनौतीका रुपमा माथि उल्लेख गरिएका छन् ।
अर्कोकुरा, नेपालले  स्कटल्याण्डसँग ५० ओभरको फरम्र्याट अर्थात एकदिवसीय क्रिकेट खेल्दैछ । महिनौंको प्रशिक्षक र अभ्यास गरेको फम्र्याटमै राम्रो खेल्न नसकेका बेला कमैमात्र अभ्यास गरिरहेको ५० ओभरमा नेपालले कस्तो खेल्ने हो ? प्रश्न स्वभाविक रुपमा उठ्नेछ ।
यतिका चुनौतीका बिच मैदान उत्रिने नेपाली टीमले खेल जित्ने आधार छैनन् भन्ने चाहिं होइन यसका आधारहरु हेरौं ।

खराव प्रदर्शनपछि फेरि सम्हालिने मौका

विपक्षी टीममा भएको हेरफेर

नेपाली टीममा भएको पुनर्सरचना

ओपनिङ्गको आशा

मन्दीको हदमा पुगेपछि अर्थ व्यवस्था समृद्धिको बाटोतर्फ अग्रसर हुन्छ । नेपालले यसपटक गरेको खराब प्रदर्शनलाई हाम्रो खराव अवस्थाको हद मान्ने हो भने नेपाली टीम अब सम्बृद्धिको बाटोमा अग्रसर हुनेछ । यसका लागि स्कटल्याण्डसँगको खेल पहिलो खुड्किलो हुन सक्छ । सोच्दै नसोचेको नतिजाबाट नेपाली टीमका सवै खेलाडीमात्र होइन प्रशिक्षक पुवुदु दसानायकेपनि नराम्ररी झस्किएका छन् । यो झस्काई र केही गर्ने अठोटले नेपाली टीमलाई फेरि मुर्झाउन सघाउनेछ ।
कप्तान पारस खड्काले भनेका छन् ‘अब हामी त्यहाँको पिच र वातावरणमा खेल्न अभ्यस्त हुँदै गएका छौं । यो टीमका लागि खुशीको कुरा हो ।’
अर्कातिर, नेपाली टीमले ३ जना खेलाडीलाई राखेर टीम पुनर्संरचना गरेको छ । जसअनुसार राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका महेश क्षेत्री टीममा अटाएका छन् । उनी आएसँगै नेपालको ओपनिङ्ग लाइनअप बलियो हुने अपेक्षा छ । ओपनिङ्गमा उनीसँगै अनिल मण्डल हुनेछन् । लामो समयपछि ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोटमार्फत टीममा फर्किएका उनी ५० ओभरको खेलमा सफलतम ओपनरमध्ये एक हुन् । यो जोडीले नेपालको सधैंजसो धर्मराइरहेको ओपनिङ्ग ब्याटिङ लाइनअपको समस्यामा राहत दिनसक्ने अपेक्षा गरिएको छ ।
अलराउण्डर पृथु बास्कोटाको आगमन पनि टीमका लागि अर्को खुशीको कुरा हो । त्यस्तै अविनास कर्णको उपस्थितीले पनि नेपाललाई थप बलियो बनाउनेछ ।
नेपालको अर्को आशा सिद्धान्त लोहनी हुन् । ट्वेन्टी–ट्वेन्टी विश्वकपको डेब्यु म्याचमै उधुम मच्चाएर धेरैको आँखामा परेका सिद्धान्तसँग नेपाली समर्थकको अपेक्षा धेरै छ । तर राष्ट्रिय जर्सीमा दोश्रोपटक मैदान उत्रन पाए उनले केही गर्ने आशा धेरैको छ ।
हुन त स्कटल्याण्डले नेपालसँगको खेललाई उच्च महत्व दिएको बताएको छ तर उसले आफ्नो पहिलो रोजाईका ६ खेलाडीका ठाउँमा दोश्रो रोजाईका खेलाडीलाई मौका दिएको छ । उनीहरुमध्येपनि धेरैजसो काउण्टी क्रिकेट खेलेका खेलाडी छन् । यद्यपी यो नेपाली टीमको मनोबल उकास्ने एउटा हतियार बन्न सक्छ ।
र अन्त्यमा, फेरि कलामकै एउटा भनाई उनले भनेका छन् ‘सफलता हासिल गर्न सही निर्णय गर्नुपर्छ सहि निर्णय अनुभवका आधारमा गरिने हो र अनुभव गलत निर्णयबाट हासिल हुन्छ ।’
भर्खरै विश्वकप छनोटको सपना धुलिसात भएपनि त्यहाँ खेल्दाका अनुभव नेपालका लागि महत्वपुर्ण बन्नेछ । यसअघिका गलत निर्णयहरुबाट पनि पाठ सिक्दै नेपालले सफलता हासिल गर्ने सही निर्णय गर्ने अवसर पनि हो ।
र अर्को कुरा, स्कटल्याण्डसँगको खेल नेपालका लागि यस्तो मौका हो जसमा नेपालको जित वा हार मात्र होइन नेपालको लय गुमेको वा फर्केको आँकलन पनि हुनेछ ।

Post a Comment

 
Top