भक्तपुर, साउन १४  – नगरकोटको पर्यटन प्रर्वद्धन गर्ने तथा नगरकोट सुरक्षित छ भन्ने सन्देश प्रदान गर्न नगरकोट नाल्दुम पर्यटन विकास समितिले आउँदो शनिबार धुलिखेलबाट नगरकोट र नालाबाट नगरकोट पदयात्रा गर्ने भएको छ । 
समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दीपक लामिछानेले समुद्री सतहबाट ७२ सय फिट उचाईमा रहेको पर्यटकीय स्थल नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश दिन पदयात्रा गर्न लागेको बताउनुभयो ।
गएको वैशाख १२ गते गएको भूकम्पबाट पर्यटकको आगमन कम भएपछि नेपालमै पर्यटक भित्र्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले अत्याधिक विदेशी पर्यटकको सहभागितामा पदयात्रा गर्न लागिएको हो । साथै बालुवापाटी देउपर गाविसमा रहेको बालुवा उमाविका शौचालय निर्माण, नगरकोटस्थित शान्ति डाँडामा भौतिक पूर्वाधार निर्माण लगायतको उदेश्यमा बिभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम संचालन गर्न लागिएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
पदयात्रामा स्वदेशी तथा विदेशी गरि चारसय जनाको सहभागिता रहने पदयात्रा कार्यक्रम आयोजना समितिका संयोजक नविन गुरुङ्गले बताउनुभयो । विहान ८ बजे धुलिखेलबाट नगरकोटसम्म १८ किलोमिटर र नालाबाट नगरकोटसम्म १० किलोमिटर पदयात्रा गरिने भएको छ ।

Post a Comment

 
Top