म्याग्दी, साउन ९ –  पहिरोले झोलुंगे पुल पुरेपछि म्याग्दीको हिस्तान गाविसको वडा नम्बर ७ र ८ तथा राम्चेको ९ नम्बर वडाका बासिन्दालाई आवत जावतमा कठिनाई भएको छ ।
भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैंसरीस्थित कालीगण्डकी नदीमा रहेको झोलुंगे पुल पहिरोले पुरेपछि औला, रिमा र काफलडाँडाका बासिन्दाहरुलाई सदरमुकाम आउन जानका लागि घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्यता भएको हो ।
पहिले ४५ मिनेट हिँडेर बैंसरी पुग्ने स्थानीय बासिन्दा पुल पुरिएपछि काफलडाँडाको भिरको घुमाउरो बाटो प्रयोग गर्दा ५ घण्टा पैदल हिँड्नुपरेको हिस्तानका डिलप्रसाद फगामीले बताउनुभयो । पुल नहुँदा बिरामीलाई उपचार गर्न लैजान, दैनिक उपभोग्य सामग्रीको ढुवानी, सरकारी सेवासुविधा लिन र सदरमुकाम आवतजावत गर्न तीन सय घरधुरीलाई सास्ती भएको स्थानीय बासिन्दाले बताएका छन् । गएको जेठ १० गते राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैसरीमा २ वटा झोलुंगे पुल पुरेको थियो ।
वैकल्पिक व्यवस्था गर्न ढिलाई हुँदा त्यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् । जिल्ला विकास समितिले पुल पुरिएपछि २ महिनामा अर्को पुल निर्माण गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म सुरु गरेको छैन ।

Post a Comment

 
Top