फिल्म हेरेर आमिर खान समेत रोएको खबर थाहा
पाएदेखि नै सकसक लागेको थियो । चलचित्र क्षेत्रबारे ज्ञान र चासो नभएपनि
आमिर खानको अभिनय साह्रै मन पर्छ । खासगरी चलचित्रमा बालबालिकाप्रति
देखाउने माया, सद्भाव र शिक्षा तथा चेतनाबारेको प्रस्तुति देखेजानेदेखि नै म
उनको फ्यान हुन थालेको हो । त्यसैले उनको तारे जमिनपर, थ्री इडिएट, पिके
अहिले पनि कहिलेकाहीँ हेर्ने गर्छु । सलमानको फिल्म हलमा हेरेपछि अमिर समेत
रोए भनेपछि बजरङ्गी भाइजन पक्कै पनि राम्रो फिल्म हुनुपर्छ भन्ने लागेको
थियो । त्यसमाथि पत्रपत्रिकामा यसको चर्चा बढ्न थालेपछि जसरी पनि
हेर्नुपर्ने भयो ।
बेलाबेला फिल्म हेर्न उल्कै रहर लागेपनि
हिन्दी धेरै बुझ्दिन । नबुझेपनि उबेला क्याम्पस पढ्न भर्खर काठमाडौं आएको
बेला टिभीमा शनिबार आउने हिन्दी फिल्म कुनै छुटाइएन । बिदाको दिन अरु काम
पनि नहुने र पढ्न पनि अल्छी लाग्ने भएकाले घरबेटीलाई मन नपरेपनि लुसुक्क
उनको कोठामा गएर पलेंटी कसेर बसिन्थ्यो । हिन्दी नआउने भएकाले कथा त्यति
बुझ्दैनथिएँ । फिल्मको कथा भन्दा पनि बीचबीचमा विज्ञापन आउँदा चाहिँ स्वाद
लाग्थ्यो ।
पहिले कथामा भन्दा विज्ञापनमा रमाउने म
बिस्तारै फिल्म हेर्दाहेर्दै धेरथोर हिन्दी बुझ्ने हुन थालें । अहिले
हिन्दीका शब्द शब्दको अर्थ थाहा नभएपनि फिल्म हेरिसकेपछि कथा चाहिँ मज्जाले
बुझ्न सक्नेसम्म भएको छु । त्यसैले यसअघिका अरु मन परेका फिल्मजस्तै
बजरङ्गी भाइजानको कथाले पनि मलाई भित्रैदेखि छोएको छ ।
चर्चा गरेजस्तै राम्रो रहेछ बजरङगी भाइजन ।
आमिर खानको आँखाबाट त्यसै आँसु आएको होइन रहेछ । फिल्मलाई समाजको ऐना
भनिन्छ । तर धेरै फिल्ममा ऐना धुमिल र भद्दा देखिन्छ । अनुहार देखिने ऐना
होइन, वास्तविकलाई अवास्तविक दृश्य देखाइदिने ऐना जस्तो लाग्छ । तर साँच्चै
समाज देखाइदिने फिल्म पनि धेरै छन् । जुन फिल्म हेरेपछि हो यस्तो पो
हुनुपर्छ भनेर सबैलाई सकारात्मक बाटोमा हिँड्न प्रेरित गर्छ । देश र समुदाय
सुधार्ने अभियानमा लाग्न बल र हौसला थप्छ । हो यस्तै शिक्षा र सन्देश दिन
सफल फिल्म हो, बजरङ्गी भाइजन ।
घर नजिकै बारीमा आमाको हात समातेर
हिँडिरहँदा एकछिन हात छुट्यो भने त बालबालिकालाई अत्यास लाग्छ । एकछिन आमा
नदेख्दा सबैथोक शून्य जस्तो लाग्छ । डाँको छोडेर रुन मन लाग्छ । अनि साना
छोराछोरी रोएको आमाले टाढैबाट सुन्छिन् । तर बजरङ्गी भाइजानकी परीजस्तै
सानी मुन्नी बोल्न सक्दिनन् । उपचारको लागि भारत गएको बेला आमासँग छुट्न
पुग्छिन् । बोल्न
र रुन सकेको भए रेलबाट छुट्ने बित्तिकै आमालाई भेट्न सक्थिन् होला । अनि
दुई देशको बीचमा भौगोलिक र भावनात्मक पर्खाल कडा नभइदिएको भए पाकिस्तान
फर्केकी बालिकाकी आमा तुरुन्तै भारत पुगेर सानी छोरीलाई गर्लम्म अँगालोमा
बेर्न पाउँथिन् होला । तर बिरानो देशमा बोल्न नसक्ने छोरी छुटाएकी उनी
पर्खाल नाघेर जान सक्दिनन् । छोरीको अभावमा अँध्यारो दिन गुजार्न बाध्य
हुन्छिन् ।
तर ती बिरानो ठाउँकी विवश आमाकी प्यारी
छोरी मुन्नीले दुई देशबीचको कठोर सम्बन्ध र पर्खाल नाघ्न सक्ने हनुमानभक्त
सलमानलाई भेट्छिन् । जसले बालिकालाई उनको घर पाकिस्तानसम्म पुर्याउन निकै
झमेला र कष्ट भोग्नुपर्छ । शुद्ध शाकाहारी र कट्टर सत्यवादी हनुमानभक्त
सलमानलाई पत्रकार बनेका नवाजुद्दिन सिद्दिकीले सघाउँछन् । मूलधारका
सञ्चारमाध्यम भन्दा सामाजिक सञ्जाल कति धेरै प्रभावकारी छ भन्ने कुरालाई
सिद्दिकीको प्रस्तुतिले मजाले झल्काउँछ ।
मुन्नी अर्थात फिल्मकी बाल कलाकार
हर्षालीको अभिनयले सबैको मन छुन्छ । रेलमा छुटेदेखि आफ्नै गाउँ फर्केर
आमासँग भेट गरेसम्मको क्षणलाई उनले जोडदार र आकर्षक ढंगले प्रस्तुत गरेकी
छिन् । बेलाबेला उनले दर्शकलाई रुवाउँछिन् । बोल्न नसक्ने एक पाकिस्तानी
बालिकालाई ज्यानको बाजी थापेर आमासँग भेट गराउने भारतका सत्यवादी युवकको
कथाले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनुको साथै धार्मिक सहिष्णुता र
मानवताको पाटोलाई पनि बलियो बनाउने प्रयास गरेको छ ।
Post a Comment