बाँके, साउन ७ – नेपालगन्ज भन्सार
कार्यालयले गएको आर्थिक वर्ष २०७१/०७२ मा लक्ष्य भन्दा झण्डै २९ करोड
रुपैयाँ कम राजश्व संकलन गरेको छ । तर संकलित राजश्व रकम आर्थिक वर्ष
२०७०/०७१ भन्दा झण्डै दुई करोड बढी हो ।
नेपालगन्ज भन्सार कार्यालयले गएको आर्थिक
वर्ष २०७१/०७२ मा चार अर्ब ९ करोड रुपैयाँ लक्ष्य पाएकोमा तीन अर्ब ८० करोड
५५ लाख ७७ हजार रुपैयाँ संकलन गर्न सफल भएको भन्सार अधिकृत ठाकुर आचार्यले
जानकारी दिनुभयो । भन्सार कार्यालयले तीन महिना मात्रै लक्ष्य अनुसारको
राजश्व संकलन गर्न सकेको थियो ।
गएको आर्थिक वर्षमा साउन, असोज र असारमा
मात्रै लक्ष्य कटाउन सकिएको भन्सार कार्यालयले जनाएको छ । भन्सार
कार्यालयले सुरुको ६ महिना भन्दा पछिल्लो ६ महिनामा बढी राजश्व संकलन गरेको
छ । नेपालगन्ज भन्सार कार्यालयको पहिलो ६ महिनाको अर्धवार्षिक लक्ष्य एक
अरब ८८ करोड रुपैयाँ भएकोमा एक अर्ब ७७ करोड रुपैयाँ राजश्व संकलन गरेको
थियो ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्यमा
आएको गिरावटका कारण भ्याट असुलीमा कमी हुनु, नेपाली सिमेन्ट उद्योगले बजार
लिएपछि भारतबाट सिमेन्ट आयातमा कमी हुनु र नेपालगन्ज नाका भएर
मोटरपार्टसका सामान नभित्रिएका कारण लक्ष्य अनुसारको राजश्व संकलन गर्न
नसकिएको भन्सार अधिकृत आचार्यले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७०/०७१ मा लक्ष्य तीन अर्ब
६० करोड आठ लाख ३२ हजार रुपैयाँ रहेकोमा तीन अरब ७८ करोड ९६ लाख ३२ हजार
रुपैयाँ राजश्व संकलन भएको थियो । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक
वर्ष २०६९/७० दुई अर्ब ८६ करोड रुपैयाँ लक्ष्य रहेकोमा तीन अर्ब ४३ करोड
९६ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
कार्यालयले आर्थिक वर्ष २०६९/७० मा पनि
लक्ष्य भन्दा ५७ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको थियो । तर यसपटक भने
लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेन् ।
Post a Comment