झापा, साउन १३ – अरिंगालको टोकाइबाट बिरामी भई ल्याइएकी १४ महिनाकी एक शिशुको उपचारमा झापाको दमकस्थित लाइफलाइन अस्पतालले ध्यान नदिँदा ज्यान गएको भन्दै मृतक परिवारले अस्पताल घेराउ गरेका छन् ।
अस्पतालमा भर्ना गरिएको ४ घण्टापछि झापा तोपगाछी –८ का राजु घिमिरेकी छोरी सेविकाको मृत्यु हुनुमा अस्पतालका चिकित्सकको लापरवाही कारण भएको दाबी गर्दै तोपगाछीका बासिन्दाले रातीदेखि नै अस्पताल घेराउ गरेका हुन् । 
उनीहरुले शिशुको शव बुझ्न अस्वीकार गरेका छन् ।  विरामीको अस्पताल भर्ना सम्बन्धी कागजातसमेत अस्पताल प्रशासनले लुकाएर घट्नाको यथार्थ छानविनमा असर गर्ने  कोशिस गरिरहेको पनि उनीहरुले आरोप लगाएका छन् । मृतकका आफन्त र शुभचिन्तकहरु अस्पतालमा पुगेपछि अस्पताल परिसरमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 
मृतकका नातेदार हरिप्रसाद पराजुलीले शिशुको उपचार सम्बन्धी कागजात अस्पताल प्रशासनले राख्नु कुनैपनि अर्थमा उचित नहुने बताउनुभयो । उहाँले मंगलबार दिउँसो ४ बजे अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएकी शिशुको अवस्था सामान्य बन्दै गएको भनेर अस्पतालले थप उपचारका लागि बच्चा वार्डमा स्थानान्तरण गरेपछि त्यहाँ प्रयोगका लागि चिकित्सकले लेखेका औषधीहरु मध्ये एउटा इन्जेक्सन लगाएको केही बेरमै शिशु बेहोस भएको र पुन चिकित्सक बोलाई दिन भन्दा विरामीलाई इमरजेन्सीमा लैजान लगाएको बताउनुभयो । 
बच्चा वार्डबाट बिरामीलाई फेरि इमरजेन्सीमा पठाइदिएको र त्यहाँ पुग्दा सबै स्वास्थ्यकर्मीहरु अघिनै भागिसकेका पाइएकोले घट्नामा अस्पताल पक्ष दोषि रहेको अनुमान सहजै लगाउन सकिने मृतकका अर्का एक नातेदारले बताए ।
पीडित पक्षले उचित छानविन गरि दोषीलाई कारवाही गर्नुपर्नेे माग उठाएका छन भने अस्पताल प्रशासनले सुरक्षामकर्मी परिचालन गरेर पीडित पक्षलाई त्यहाँबाट हटाउन खोजिरहेको छ । घट्नाको सामान्यीकरण गर्ने वा मृत्युको खास कारण बारे परिवारलाई जानकारी गराउने प्रयत्न समेत नगरेको पीडित पक्षको गुनासो छ ।

Post a Comment

 
Top