काठमाडौं, साउन १० – वैशाख १२ गते भूकम्प गएपछि त्यसका पराकम्पन अझै गैरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दैनिक रुपमा अझै पनि ४ रेक्टर स्केल मुनिका सयौँ पराकम्पन गइरहेका छन् । ‘दिनमा ७०/८० वटा त ४ रेक्टर स्केल मुनिका पराकम्पन गैरहेका छन्’ उहाँले भन्नुभयो, ‘कहिलेकाँही एक सय पनि नाघ्छ ।’ उहाँका अनुसार केन्द्रसँग २ रेक्टर स्केल मुनिका पराकम्प मापन गर्न मेशिन छैन । 
यसरी पराकम्पन गैरहेकाले सतर्क हुन उहाँले आग्रह गर्नुभयो । ठूलो भूकम्पपछि साना पराकम्प वर्षाैंसम्म आइरहने भएकाले सतर्क हुनुपर्ने उहाँको भनाई छ । उहाँका अनुसार पराकम्पन आउने क्रम भने कम भएको छ । भूकम्प लगत्तै ४ रेक्टर स्केलमाथिका दैनिक ३० भन्दा धेरै पराकम्पन गएपनि अहिले त्यो घटेको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । 
उहाँका अनुसार वैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केल माथिका ३ सय ५५ भन्दा धेरै पराकम्पन गइसकेको छ । उहाँले भन्नुभयो , ‘अब ठूलो भूकम्प आउने नआउने त हामीले पनि भन्न सक्दैनौ तर यसको फ्रिक्वेन्सी कम हुँदै गएको छ ।
अब केहि दिन, हप्ता र महिना हुँदै पराकम्प कम हुँदै जान्छ ।’ कम हुँदै गएपछि यसको ख्याल नै हुँदैन तर अहिले चर्किएका घरहरु कमजोर भएकाले सतर्क भने हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Post a Comment

 
Top