काठमाडौँ : नवलपरासीमा एक १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले आज सार्वजनिक गरेको छ। 

नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि दिने कोदइ हरिजनसहित सोही स्थान बस्ने ५५ वर्षीया गङ्गा हरिजन, ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान हरिजन र १८ वर्षीय विजय हरिजनलाई समेत पक्राउ गरी सार्वजनिक गरेको हो। 

गत साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर बलि दिएको उनीहरुले प्रहरीसमक्ष स्वीकार गरेका छन्। 


यही बालकको बलि दिइएको थियो

किन दिइयो बलि ?

कोदइका १८ वर्षीय छोरा विजय हरिजन बेलाबेलामा बिरामी हुने गर्थे। धामीले बालकको बलि दिएमा निको हुने बताएपछि उसकै विश्वासमा कोदइले छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि दिएको प्रहरीसमक्ष स्वीकारेका छन्। 

कुडिया गाविस रेता नजिकैको मन्दिर छेउमा बालक जीवन कोहारलाई बलि दिएको उनले प्रहरीसमक्ष बताएका छन्।

कोदईसहितका सहयोगीले मिलेर साउन ५ गते बालकको बलि दिएका थिए। तर शुक्रबार मात्र बालकको शव गाउँनजिकै फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।  


छोराको मृत्युपछि शोकाकुल आमा

यसरी दिइएको थियो बलि

प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले अनुसन्धानबाट खुलेको भन्दै दिएको जानकारी अनुसार बलि दिनलाई उनीहरु उपयुक्त बालक खोज्दै थिए। यस्तैमा भेटिए नजिकै खेल्दै गरेका बालक जीवन। जीवनलाई बिस्कुट दिएर पछि अरू पैसा दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगे।

मन्दिर नजिक पुगेपछि जीवनलाई तीन जनाले समाते। कोदईले घरेलु हतियारको प्रयोग गरी बालकको घाँटी रेटे।  

लामा धामी गङ्गा हरिजनले बालकको बलि दिएमा तिम्रो छोरा निको हने बारम्बार बताएपछि कोदई हरिजनले छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि चढाएका थिए। 

कोदईले हत्या गर्न सघाउनेलाई रु ५० हजार दिने भनी वचन दिएको हत्यामा संलग्नले बताएका छन्। बालकलाई बलि दिने सबै अभियुक्तलाई पक्राउ गरिएकाले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए। रासस 

Post a Comment

 
Top