जाजरकोट, साउन १३ – जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रको अति विकट मजकोट गाविस वडा नं ३ र ९ जोड्ने विराखोलामा रहेको पुल मंगलवार राती आएको बाढीले बगाएको छ । दह, कोर्ताङ्ग र मजकोट तीन गाविसलाई जोड्ने काठेपुल बगाएपछि त्यस क्षेत्रका हजारौं बासिन्दा समस्यामा परेका छन् ।
पक्की पुल नभएको र कच्ची काठेपुल बाढीले बगाईदिएपछि स्थानीयबासिन्दालाई यतिवेला आवतजावतमा निकै समस्या परेको छ । विद्यार्थी विद्यालय जान सकिरहेका छैनन् भने सदरमुकाम खलंगा र अन्य गाविस जान स्थानीयबासिन्दालाई घण्टौं हिँड्नुपर्ने बाध्यता रहेको नागरिक सचेतना केन्द्रका संयोजक अमर नेपालीले बताउनुभयो ।
पक्की पुल बनाउनका लागी २०६९ सालदेखि गाउँ परिषद , इलाका परीषद  हुँदै जिल्ला परिषदबाट पनि योजना पास  भएको तर  हालसम्म जिल्ला विकास समिति  र स्थानीय राजनीतिक दलका नेताको बेवास्ताका कारण समस्या आइपरेको स्थानीय पदम वहादुर शाहीले बताउनुभयो । यस क्षेत्र सदरमुकामबाट दुईदिनको पैदल दूरीमा पर्दछ ।

Post a Comment

 
Top