काठमाडौं, साउन १६ - नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । कूटनीतिकस्तरमा द्विपक्षीय दौंत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशका अवसरमा दुवै मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बेग्लाबेग्लै बधाई सन्देश जारी गरी एकआपसमा शुभकामना एवम् बधाई आदानप्रदान गर्नुभएको छ । 
राष्ट्रपति डाक्टर रामवरण यादवले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई बधाई सन्देश पठाउँदै पञ्चशीलका सिद्धान्तले द्विपक्षीय सम्बन्धमा शान्तिपूर्ण सहअस्तित्वका मजबुत आधार उपलब्ध गारएको बताउनुभएको छ । 
सन्देशमा उहाँले ‘एक चीन नीति’ प्रति नेपालको सम्मान रहेको बताउँदै नेपाली नागरिकले चिनियाँ नागरिकलाई सच्चा र विश्वसनीय मित्रका रुपमा उच्च सम्मान गरेका उल्लेख गर्नुभएको छ । 
यस्तै चीनका राष्ट्रपति सीले पनि बधाई सन्देश पठाएर चीन र नेपाल–चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार हुन् भन्दै बितेका ६० वर्षमा द्विपक्षीय सम्बन्ध निरन्तर परिपक्क भइरहेको बताउनुभएको छ । चीन र नेपालबीच विशिष्टिकृत विस्तृत सहयोगात्मक साझेदारीको सम्बन्ध अनन्तकालसम्म निरन्तर रहने गरी  स्थापना भएको उल्लेख गर्दै सन्देशमा चिनियाँ राष्ट्रपतिले चीन–नेपाल सम्बन्धलाई आफूले अधिक महत्व दिएको बताउनुभएको छ ।   
दुवै देश र नागरिकलाई लाभ हुने अझ फलदायी परिणामका निम्ति सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै उहाँले चीन र नेपालबीचको चिरस्थायी सम्बन्धको शुभकामना व्यक्त गर्नुभएको छ । 
प्रधानमन्त्री सुशील कोइरालाले पनि आफ्ना चिनियाँ समकक्षी ली खछ्याङलाई पठाउनुभएको बधाई सन्देशमा नेपाल–चीन सम्बन्ध आपसी लाभका निम्ति पारस्परिक सम्मान, समझदारी, विश्वास र मैत्रीबाट परिपोषित, सङ्गठित र सुदृढ भएको बताउनुभएको छ । 
प्रधानमन्त्रीले नेपालको पुनर्निर्माणमा उल्लेख्य सहायता उपलब्ध गराउने चिनियाँ प्रतिबद्धताप्रति आभार प्रकट गर्दै चीनले हासिल गरेको असाधारण प्रगति एवम् समृद्धिबाट नेपालले लाभ लिने आशा व्यक्त गर्नुभएको छ । 
यसैगरी चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री कोइरालालाई पठाउनुभएको बधाई सन्देशमा चीन–नेपाल सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित रहेको तथा साना र ठूला छिमेकी मुलुकबीच समानस्तरको मैत्रीपूर्ण सम्बन्ध कायम गरेर असल दृष्टान्त प्रस्तुत गरेको बताउनुभएको छ । धेरै वर्ष पहिलेदेखि नै घनिष्ठ सम्बन्ध रहँदै आएको नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Post a Comment

 
Top