काठमाडाैं, साउन ८ - बन्द सधैंका लागि बन्द हुनुपर्ने माग गर्दै आएका नागरिकले शुक्रबार फेरि अर्को बन्दको मार खेप्नु परेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडाैं उपत्यका सहित देशभरका सडकमा गाडी कम मात्रै चलेका छन् । बजार पसल र शिक्षण संस्था पनि बन्द छन् । बन्दका कारण सार्वजनिक गाडी कम चलेपछि काम विशेषले गन्तव्यमा पुग्नुपर्नेलाई सास्ती भएको छ ।
बन्दको क्रममा काठमाडौं सहित देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जबर्जस्ती बन्द गराउनेलाई प्रहरीले पक्राउ गरेको छ । अहिलेसम्म बन्द गराउँदै हिँडेका ५० जना भन्दा धेरैलाई प्रहरीले प्रक्राउ गरेको छ ।
काठमाडौंमा ११ जना, बागलुङमा १० जना, हेटौँडामा १० जना, दोलखामा ६ जना र बुटवलमा ४ जना माओबादी कार्यकर्ता पक्राउ परेका छन् । संविधानको मस्यौदा तथा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको आह्वान गरिएको नेकपा माओवादीले जनाएको छ । 

क्षेत्रीय सदरमुकाम सुनसान

बन्दका कारण सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलका प्रमुख ब्यापारी केन्द्र पिपल्ला, राजपुर पूर्ण रुपमा सुनसान भएको छ । सडकमा बन्द गर्ने माओवादीका नेता कार्यकर्ता कोही नभएपनि यातायात, बजार, कलकारखाना, उद्योगधन्दा पूर्णरुपमा बन्द भएका छन् भने फाट्टफुट्ट मोटरसाइकल चलेका छन् । 

अर्घाखाँचीमा ६ मोटरसाइकल नियन्त्रणमा

बन्दका कारण अर्घाखाँचीको जनजीवन पनि प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले अर्घाखाँचीमा ६ मोटरसाइकल नियन्त्रणमा लिएका छन । बन्दकर्ताले सन्धीखर्कमा ३ र ठाडामा ३ वटा मोटरसाइकल नियन्त्रणमा लिएका हुन  । स्कूल, कलकारखाना पसल समेत  बन्द भएका छन् ।  चोक–चोकमा बसेर बन्दकर्ताहरुले बन्द गराइरहेका छन । 

बन्दकर्ता बिनै बन्द

बन्दको कारण पूर्वी क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । बिराटनगरमा बिहानैदेखि गाडी चलेका छैनन्. । बिराटनगरदेखि ईटहरीसम्मका सडकमा एकजना पनि बन्दकर्ताहरु देखिएका छैनन । बन्दकर्ताहरु सडकमा नआएपनि प्रहरीका सवारी, एम्बुलेन्स र मोटरसाईकल मात्र सञ्चालनमा छ । 

हेटौंडामा १० जना पक्राउ

मकवानपुरको हेटौंडामा बजार र यातायातका साधनहरु बन्द गराउँदै हिँड्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १० जना नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । बन्द गराउँदै हिँड्ने नेकपा माओबादी मकवानपुरका नेता ईन्द्रबहादुर परियार नयन सहित १० जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 
हेटौडाको सडकमा फाट्टफुट्ट भित्री सडकहरुबाट मोटरसाइकल मात्र गुडेका छन् । मकवानपुर भएर चल्ने पूर्व पश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्ती राजपथ, हेटौडा भएर जिल्लाका गाउँ गाउँ जाने गाडी नचलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो । बन्दका कारण मकवानपुरका शैक्षिक संस्था, उद्योग कलकारखाना समेत बन्द छन् । 

बर्दियामा पनि बन्दको प्रभाव

बन्दको प्रभाव बर्दियामा पनि परेको छ । मुख्य गरी सवारी साधन निर्वाध रुपमा चलेका छैनन् । बर्दियाको सदरमुकाम गुलरिया सहितका मुख्य बजारहरु बिहानैदेखि बन्द छन् । ग्रामिण क्षेत्रका बजारहरु भने खुलेका छन् ।
विहानै देखि सदमुकाम सहित मुख्य बजार र राजमार्गमा सुरक्षाकर्मी तैनाथ छन् । बन्दकर्ताहरु सडकमा देखिएका छैनन् । लामो दुरीका गाडी प्रहरीको स्कर्टिङमा चलेका छन् ।

Post a Comment

 
Top