पाँचथर, साउन १५ - जिल्ला अदालत पाँचथरले
जबर्जस्ती करणी गरेको आरोप लागेका लुङ्रुपा– ३ का ७० वर्षीय देवी राईलाई ११
वर्ष कैद सजाय सुनाएको छ । मुद्दा दर्ता भएको १५ दिनमै राईलाई दोषी
प्रमाणित गर्दै सजाय सुनाइएको हो ।
छिट्टै सुनुवाई हुनुपर्ने मुद्दामा ढिलाइ
हुँदा पीडितले पाउने न्यायको दायरा साँघुरो बन्दै गएका बेला १५ दिनमै
मुद्दामाथि फैसला सुनाएर अदालत उदाहरणीय बनेको छ । अदालतले राईलाई कैदसहित
२५ हजार रुपैयाँ भरण गर्न आदेश दिएको छ ।
पन्ध्र वर्षीया बालिकालाई राईले जबर्जस्ती
करणी गरेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जेठ २७ गते
उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा आरोपितलाई प्रहरीले अनुसन्धान गरी
असार १३ गते अदालतमा बुझाएको १५ दिनमै मुद्दा फैसला गरेको हो ।
प्रमाण र साक्षी जुटेपछि १५ दिनमै पीडकलाई
सजाय दिन सम्भव भएको जिल्ला अदालत पाँचथरका स्रेस्तेदार इन्द्रहाङ
योङ्हाङले बताउनुभयो । लगातार सुनुवाइ गर्नुपर्ने किसिमका गम्भीर प्रकृतिका
मुद्दाहरु चाँडै किनारा नलाग्दा प्रमाण नष्ट हुने, साक्षीलाई लोभलालच दिने
र अन्य किसिमका सौदाबाजीले पीडितले न्याय नपाउने अवस्था छ । संवेदनशील
किसिमका मुद्दाको किनारा चाँडो नहुँदा पीडितले मानसिक तनाब खेप्नुपर्छ ।
अपहरण
तथा शरीर बन्धक, आगलागी, घरेलु हिंसा, चोरी, जबर्जस्ती करणी, जीउ
मास्ने–बेच्ने, ठगी, मानव बेचबिखन तथा ओसारपसारका मुद्दालाई लगातार सुनुवाइ
गरी चाँडो न्याय सम्पादन गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
Post a Comment